January 26, 2016

नयाँ शक्ति सहभागीतामूलक लोकतन्त्रलाई अभ्यास गर्ने नेपालकै पहिलो दल हुनेछ


पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदका क्रममा दिएको मन्तव्य
प्रिय पत्रकार मित्रहरु !
सर्वप्रथम हामी नयाँ शक्ति निर्माण अभियानको यो कार्यक्रममा तपाईंहरुलाई हार्दिक स्वागत गर्दछौं । यो सुखद क्षणमा हामी नेपालको संघीयता, लोकतान्त्रिक गणतन्त्र र परिवर्तनको लडाइँमा शहादत प्राप्तगर्नु हुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दछौं । शहीदहरुले देखेको सम्बृद्ध, न्यायपूर्ण र सुशासित नेपाल बनाउने सपना पूरा गर्न हामी बचनवद्ध छौं । यही वाचाका साथ देश–विदेशमा रहनुहुने सबै नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई नयाँ शक्ति निर्माण अभियानमा साथ, सहयोग र सहकार्य गर्नकालागि हार्दिक आह्वान गर्दछौ ।

नयाँ शक्ति निर्माण अभियानको तर्फबाट हामीले विगत तीन महिनामा देशका विभिन्न जिल्लाहरुमा अनेकौं छलफल, अन्तरक्रिया र भेटघाटहरु गर्यौं । ती भेटघाटहरुमा हामीलाई हजारौं मित्रहरुको अपार माया, उत्साह र समर्थन प्राप्त भयो । अनेकौं युवा मित्रहरुले हामीलाई नयाँ शक्ति कस्तो बनाउने ? यसको राजनीतिक विचार, सिद्धान्त र संगठनात्मक प्रणाली कस्तो हुनुपर्छ ? हामी कसरी छोटो समयमै यो देशलाई सम्बृद्ध बनाउन सक्छौं ? जस्ता प्रश्नहरुमा मूल्यवान सुझावहरु दिनुभएको छ । तिनै सुझावहरुको आधारमा हामी अझ धेरै लोकतान्त्रिक, सम्बृद्धि–उन्मुख र सुशासित राजनीतिक दल बनाउन चाहन्छौं । हामी विगतका अनुभवहरुबाट सिक्दै नेपाली राजनीतिलाई जनउत्तरदायी, रचनात्मक, सुशासित र सद्भावपूर्ण बनाउन चाहन्छौं । यसकालागि नयाँशक्ति निर्माण अभियानलाई सुरुदेखिनै जनताको जुन गहिरो माया, सद्भाव र समर्थन प्राप्त भयो त्यसकालागि हामी आभारी छौं । हामी जनताको बिश्वासलाई कहिल्यै झुक्न दिनेछैनौं । यही विश्वासका साथ नयाँ शक्ति निर्माण अभियानको पहिलो प्रचारात्मक चरण उत्साहपूर्वक सम्पन्न भएको जानकारी गराउछौं । दोस्रो चरण राजनीतिक दल निर्माणको चरण हुनेछ । यो चरणलाई संस्थागत, दीगो र व्यवस्थित गर्न हामीले आजैबाट नयाँ शक्ति नेपाल, को अन्तरिम केन्द्रीय परिषद् निर्माण गरेका छौं । केन्द्रीय परिषद्ले दलको पहिलो राष्टि̭य सम्मेलन आयोजक कमिटी निर्माण, दलको अन्तरिम राजनीतिक तथा सांगठनिक कामहरुको व्यवस्थापन, नयाँ शक्तिको पक्षमा जनपरिचालन र समकालीन राजनीतिक समस्या समाधानकालागि संवादको पहल गर्नेछ । यसैगरी नयाँ शक्ति, नेपालको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सञ्चालन गरिएको समेत सहर्ष जानकारी गराउछौं ।

प्रिय पत्रकार मित्रहरु !
नेपालको संविधान २०७२ जारी भएपछि हामी नयाँ युगमा प्रवेश गरेका छौ । मूलत: राजतन्त्र र एकात्मक राज्यको अन्त्य, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्रको घोषणाले सामन्तवादको राजनीतिक उपस्थिति औपचारिक रुपमा अन्त्य भएको छ । यद्यपि संविधानको घोषणासँगै केही असन्तुष्टिहरु पनि उजागर भएका छन् । यसको अर्थ हाम्रा प्रमुख राजनीतिक कार्यभारहरु फेरिएका छन् । अव राजनीतिक अधिकार प्राप्तिको संघर्ष गौण र आर्थिक अधिकार सहितको राजनीतिक अधिकार मुख्य बिषय बनेको छ । उच्चदरको उत्पादन बृद्धि, भौतिक तथा मानवीय विकास, समन्याय र सम्बृद्धिका साथ प्रत्येक ब्यक्तिको क्षमताको पूर्णविकास र उपयोग हुनसक्ने समाजवाद–उन्मुख नेपालको निर्माण नेपाली राजनीतिको मुख्य कार्यभार भएको छ । तर यसको अर्थ यो होईन कि आर्थिक सम्बृद्धिको कार्यभारलाई राजनीतिले स्वतन्त्र छोडोस् । त्यसैले उद्यमशील पूँजी निर्माण, पूँजीको न्यायपूर्ण वितरण र सम्बृद्धिकालागि काम गर्नु अवको मुख्य राजनीतिक दायित्व भएको छ । राष्ट्रिय औद्योगिक पूँजीवादको जग निर्माण गर्दै समुन्नत समाजको रचना गर्नु नेपाली राजनीतिको मुख्यकार्यभार हो । उत्पादन र उत्पादकत्वको तीब्र बृद्धि गर्दै न्यायपूर्ण वितरणमा जानु आजको आवश्यकता हो । उत्पादनका साधनहरु माथिको स्वामित्व र पहुँचलाई न्यायपूर्ण वितरण सहित गरीवी र वेरोजगारीको अन्त्य, महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुश्लिम र पिछडिएको क्षेत्रको सामेलीमा देशलाई सम्बृद्ध बनाउनु आजको लोकतान्त्रिक, न्यायपूर्ण र प्रगतिशील राजनीतिको मुख्य कार्यभार हो । देशको उत्पादनशील युवा श्रमशक्तिलाई स्वदेशमै काम दिने र सम्बृद्धिकालागि युवाहरुको योगदानलाई अगाडि लैजाने दिशामा जानु आवश्यक छ । साथै भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई सदाचार र सुशासनयुक्त बनाउनु छ । यो कार्यभारलाई नयाँ शक्तिले पूरा गर्नेछ ।
देशमा तत्काल तीन वटा अन्तरद्वन्दहरुको ब्यवस्थापन गर्नुपर्ने छ । पहिलो: अगाडि बढेको औपचारिक राजनीतिक लोकतन्त्र र पछाडि पारिएको आर्थिक आधारको अन्त्य गर्नुछ । यसलाई सामाजिक न्याय सहितको तीब्र आर्थिक विकास र सम्बृद्धिको कार्ययोजनाले हल गर्नेछ । दोस्रो: देशको जातीय तथा क्षेत्रीय विविधता र विषमताबाट उत्पन्न अन्तद्र्वन्दलाई समाधान गर्नुछ । यसलाई मूलत: समानुपातिक समावेशी आधारमा प्रमुख जातीय समूह खस–आर्य, मंगोलमूलका आदिवासी जनजाति, मधेसी–थारु, मुस्लिम, दलित, अल्पसंंख्यक, महिला र युवाहरुलाई न्यायोचित संघीय संरचना र राज्यको अंगहरुमा पुर्याउनु छ । सामाजिक पहिचान सहित सहअस्तित्व, समन्याय र आत्मसम्मानको संस्कृति निर्माण गर्नु आजको आवश्यकता हो । तेस्रो: दुईठूला छिमेकी भारत र चीन बीचमा रहेको भूराजनीतिक अवस्थिति र सम्वन्धले सिर्जना गरेका चुनौति र अवसरहरुको समुचित व्यवस्थापन गर्नुछ । यसलाई विगतमा जस्तो दुई ढुंगा बीचको तरुलको मानसिकताले होइन दुई उदयीमान अर्थतन्त्रहरु बीचको गतिशील पुलको अवधारणा अन्तरगत कामगर्नुपर्छ । यसकालागि अझधेरै लोकतन्त्र, राष्ट्रिय एकता, प्रगतिशील राष्ट̭वाद, सुशासन, समावेशीता, समन्याय, समाजवाद र सम्बृद्धिनै हाम्रा राजनीतिक प्राथमिकताहरु हुनेछन् । यिनै प्राथमिकताहरुलाई सैद्धान्तिकरण गर्दै नयाँ धारको वैकल्पिक राजनीति निर्माण गर्नु नयाँ शक्तिको राजनीतिक कार्यदिशा हुनेछ ।

साथीहरु !

धेरैको जिज्ञासा छ – नयाँ शक्ति कस्तो राजनीतिक दल बन्छ ? सयौं अनुभवी राजनीतिक कार्यकर्ता, विद्वान मित्रहरु र उर्जाशील युवाहरुले यो प्रश्नमाथि हामीलाई गम्भीर सुझावहरु दिनुभएको छ । हामी प्राप्त सबै सुझावहरुलाई सम्मानसाथ ग्रहण गर्दछौं । हामीले दस्तावेजहरु लेख्न सुरुवात गरेका छौं । एउटा लोकतान्त्रिक पार्टिकालागि दस्तावेजहरुको लेखन आफैंमा लोकतान्त्रिक हुनुपर्छ । यसर्थ यो प्रक्रियामा पनि हामी देश विदेशमा रहनुहुने धेरैभन्दा धेरै मित्रहरुको सुझाव लिन चाहन्छौ । आजसम्मका विभिन्न सुझाव र छलफलहरुका आधारमा हामी केही खास निश्कर्षहरुमा पुगेका छौ । जसका आधारमा हामी भन्न चाहन्छौं कि नयाँ शक्ति सहभागीतामूलक लोकतन्त्रलाई अभ्यास गर्ने नेपालकै पहिलो दल हुनेछ । त्यसैले यो दल निर्माणको प्रक्रिया पनि सहभागीतामूलक र लोकतान्त्रिक हुनेछ । हामी समाजका हरेक तह र तप्कामा बन्दैगएका हजारौं नयाँ शक्ति अभियानका स्थानीय समूहहरुलाई जोड्दै बिशाल दल बनाउने छौ । यो प्रक्रिया माथिवाट तलतिर जाने नभई तलबाट माथि जाने त्रिकोण आकारको हुनेछ । साथै यो दल नेता र कार्यकर्ताको मात्र नभै सम्पूर्ण नेपालीको होस भन्ने चाहन्छौं ।

नयाँ शक्ति मूलत: आधुनिक युगका चुनौति, आवश्यकता, चासो र सरोकारलाई सम्बोधन गर्ने अभिष्टवाट स्थापित राजनीतिक दल हुनेछ । सार्वजनिक जीवनमा विकास, सुशासन, सदाचार, समन्याय, स्वाधीनता, समावेशीता, सम्बृद्धि र समाजवादको कुरा गर्ने दलले आफ्नो पार्टी जीवन पनि तदनुरुप नै बनाउनु आवश्यक हुन्छ । अबको दलले उन्नाइसौं वा बीसौं शताब्दीका संगठनात्मक सिद्धान्तहरुको अनुशरण मात्र गरेर पुग्दैन बरु यो एक्काईसौं शताब्दिका आवश्यकताहरुबाट निर्देशित हुनुपर्छ । यसकालागि नेपाली जनताका नयाँ चेतना, ज्ञान, आवश्यकता र परिवर्तनका अपेक्षाहरु दलको जीवनमा पनि परिलक्षित गर्ने हाम्रो प्रयत्न हुनेछ ।

नयाँ शक्तिले आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा निरन्तर विकास गर्दै लैजानेछ । नयाँ शक्तिमा आवद्ध अभियन्ताहरुले दलको संगठनलाई सदैव चलायमान, रचनात्मक र जीवन्त बनाउने छन् । पार्टीलाई परम्परागत प्रतिनिधिमूलक लोकतन्त्र वा निर्देशित जनवादको अभ्यासमा सीमित गरिने छैन । दलभित्र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिनेछ । दलमा सदस्यहरु नै सबैभन्दा उच्च, निर्णायक र सार्वभौम हुनेछन् । सदस्यहरुको सार्वभौमसत्ता नै दलको शक्तिको स्रोत हुनेछ । निश्चित वैधानिक ब्यवस्था अनुसार सदस्यहरुले गर्ने निर्णय नै दलको अन्तिम निर्णय हुनेछ ।

हामीलाई थाहा छ दल संरचनाहरुको लोकतान्त्रिक व्यवस्थापन दलका सदस्य तथा कार्यकर्ताहरुको निगरानी र नियन्त्रणबाट मात्र सम्भव छ । त्यसैले नयाँ शक्तिको दलीय संरचनामा प्रत्यक्ष र परिणाममुखी लोकतन्त्र (Direct Democracy), सुशासन, पारदर्शीता, जवाफदेहिता र विधिको शासनलाई अभिन्न बनाईनेछ । दलमा शक्ति पृथकीकरणको अभ्यास गरिनेछ । एक ब्यक्ति, एक कार्यकारी पद र दुई कार्यकाल, निर्वाचनमा अस्वीकारको ब्यवस्था, नेतालाई फिर्ता वोलाउने हक (Right to Reject and Right to Recall) जस्ता नयाँ व्यवस्थाले मात्र नयाँ शक्तिको दलीय जीवन नयाँ, अझ लोकतान्त्रिक र जीवन्त हुनेछ । हामी यस्ता नवीन अभ्यासहरुलाई नयाँ शक्ति निर्माण अभियानमा स्थापित गर्न चाहन्छौं ।

हाम्रो मुख्य उद्देश्य नै देशलाई सम्बृद्धिको त्यो उचाईमा पुर्याउने हो जहाँ उभिएर हामी गर्व गर्न सकौं । हामी सामाजिक न्यायसहितको सम्बृद्धि चाहन्छौं । हामीलाई थाहा छ फोस्रा भाषण, परम्परागत राजनीतिक ढर्रा, सिद्धान्तको वोझ र संकीर्णताबाट जनता मुक्ति चाहन्छन् । सम्बृद्धि नेपाली जनताको मुख्य अपेक्षा हो । हामी यो कार्यभार सहर्ष स्वीकार गर्दछौं । यो कार्यभार पूरागर्न हामी राष्टि̭य सम्बृद्धिका प्रारम्भिक, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाउने छौं । यसकालागि हामीले देश–विदेशमा क्रियाशील बिषय विज्ञहरुसँगको परामर्शलाई निरन्तरता दिनेछौं । यो काममा हामी सबैको, सदैव उत्कृष्ट विचारहरु सुन्न आतुर छौं ।

प्रिय मित्रहरु !

आजबाट हामीले नयाँ शक्ति नेपालको २६५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गरेका छौं । साथै आजैबाट हामीले नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौमा सञ्चालनमा ल्याएका छौं । परिषद्ले दल निर्माणको सम्पूर्ण प्रक्रियालाई लोकतान्त्रिक र संस्थागत गर्दै अगाडि लैजानेछ । परिषद्ले केही महिनामै राष्टि̭य भेलाको आयोजना गरी पहिलो राष्टि̭य महाधिवेशन आयोजक कमिटीको गठन गर्नेछ । सो कमिटीले दलको पहिलो र ऐतिहासिक महाधिवेशन सम्पन्न गर्नेछ । दलको पहिलो महाधिवेशनपछि मात्र दल निर्माणको पहिलो र युगीन कार्यभार पूरा हुनेछ । यसैगरी दलको केन्द्रीय कार्यालय सञ्चालनकालागि सानो समूहले आजैबाट काम सुरु गरेको छ ।

यद्यपि यी कुनैपनि संरचना स्थायी होइनन् । यी सबै दलका कामलाई व्यवस्थापन गर्दै लैजाने अन्तरिम संरचनाहरु मात्र हुन् । हामी केही सीमित व्यक्तिहरुले पार्टी स्थापना गर्ने प्रक्रियामा नभई हजारौं संस्थापक हुने दल निर्माणको प्रक्रियालाई स्थापित गर्न गइरहेका छौं । आशा छ हाम्रो यो अभियानमा देश–विदेशका सम्पूर्ण दाजुभाइ, दिदीवहिनी, सामाजिक तथा राजनीतिक कार्यकर्ता, बिषय विज्ञ र सबै शुभेच्छुकहरुको सद्भाव र सहभागीता रहने छ । हामी स्वस्थ राजनीतिक प्रतिस्पर्धा र रचनात्मक साझेदारीको पक्षमा छौं । हामी पूर्वाग्रहपूर्ण राजनीतिको अन्त्य चाहन्छौं । हामी चाहन्छौं नेपाली राजनीति नयाँ संस्कृति, नयाँ शैली र नयाँ जिम्मेवारी वोधको युगतर्फ प्रवेश गरोस् । यसकालागि हामी वैचारिक र व्यवहारिक रुपमै अगुवाई गर्न चाहन्छौं ।
प्रिय साथीहरु !

हामी इतिहासलाई नयाँ आयाम दिन चाहन्छौं । हामीलाई थाहा छ, नयाँ शक्ति निर्माण हाम्रो जिम्मामा आएको ऐतिहासिक दायित्व हो । देश र जनताको सम्बृद्धि बाहेक हाम्रो कुनै निजी अभिष्ट छैन । यसकालागि हामी निरन्तर सचेत प्रयत्न गरिरहने छौं । हामीलाई विश्वास छ नेपाली जनताको अपार सहयोग, सद्भाव र ऐक्यवद्धताबाट हाम्रो लक्ष्य पूरा हुनेछ । हामी सम्बृद्ध नेपालको महान लक्ष्यकालागि सबै न्यायप्रेमी र परिवर्तनकामी जनतासँग हातेमालो गर्न तयार छौं ।
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति नेपाल, अन्तरिम केन्द्रीय परिषद्

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More