हेरौ उक्त बिबादित डकुमेन्ट्री - BBC has broadcast the controversial banned documentary India's Daughter on the occasions International Women s day.
सन् २०१२ को डिसेम्बर १६ का दिन नयाँदिल्लीमा एक २३ वर्षीया छात्रासँग सामूहिक बलात्कार भएको थियो । यसैका कारण उनको ज्यान गएको थियो । बीबीसीले गत बुधबार प्रसारण गरेको उक्त वृत्तचित्र भारत सरकारले प्रतिबन्ध लगाएको छ । बलात्कारमा संलग्न एक अपराधीको अन्तर्वार्तासमेत सामेल रहेको वृत्तचित्र भारतको एक अदालतद्वारा आदेश जारी गरी प्रसारणमा प्रतिबन्ध लगाएको हो । यो मुद्दा अझै पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको हुनाले उक्त वृतचित्रले फैसलालाई प्रभावित पार्ने अदालतको तर्क छ ।
पीडितका पिताले यसले समाजका एक वर्गको छोरीचेलीप्रतिको धारणा सबैले थाहा पाउने भन्दै वृत्तचित्रलाई सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने विचार व्यक्त गरेका छन् । 'प्रत्येकले अवश्य उक्त चलचित्र हेर्नुपर्छ,' भारतीय समाचार च्यानल एनडीटीभीले पीडितका बाबुको भनाइलाई उद्धृत गर्दै आफ्नो वेबसाइटमा जनाएको छ ।
त्यसैगरी पीडितका आमाले पनि एनडीटीभीलाई अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा बीबीसीद्वारा प्रसारण गरिने भनिएको वृत्तचित्र प्रसारणमा आफ्नो कुनै प्रतिवाद नभएको जनाएकी छन् । सरकारले लगाएको प्रतिबन्धप्रति आफूलाई कुनै सरोकार नभएको यसको प्रसारणलाई कोही पनि डराउनु नपर्ने उनले बताएकी छन् । विभिन्न पुरस्कार विजेता बेलायती चलचित्र निर्माता लेस्ली उडविनद्वारा निर्मित वृत्तचित्रले भारतभरि विवाद खडा गरेको छ ।
पीडितकी आमाले बलात्कारीलाई सजाय दिएर विवादको मूल जरोलाई समाप्त पार्नुमा यस विषयमा अनाहकको राजनीति भइरहेको बताएकी छन् । 'केही दिनदेखि संसद्देखि मिडियासम्म बहस भइरहेको छ, समाधान के निस्क्यो त ? के मेरी छोरीको अपराधीलाई सजाय भयो त ?,' उनले प्रतिप्रश्न गरेकी छन् । वृत्तचित्रले भारतको छवि बिगार्ने सरकारको दाबी छ ।
त्यसमा अभियुक्त मुकेश सिंहले आफ्नो अपराधलाई सही ठहराउँदै रातिराति सडकमा हिँड्नेलाई दोषी ठहराएका छन् ।
बीबीसीमा प्रसारित 'इन्डियाज डटर (भारतकी छोरी)' शीर्षकको उक्त वृत्तचित्रलाई युट्युबले हटाएको छ । 'युट्युबजस्तो सेवाले नागरिकलाई आफ्नो कुरा राख्न र विभिन्न मतको साझेदारीमा सहयोग गर्छ, तर गैरकानुनी र हाम्रो कम्युनिटी दिशा निर्देशको उल्लंघन गर्ने सामग्रीलाई हामी हटाउँछौं,' युट्युबको प्रवक्ताले बीबीसीलाई भनेको छ । बीबीसीले आफ्नो बचाउ गरेको छ । 'हाम्रो सम्पादकीय दिशानिर्देशअनुरूप वृत्तचित्र छ, यसले उक्त मुद्दालाई पूरा संवेदनशील भएर प्रस्तुत गरेको छ,' उसले भनेको छ ।
आमनगारिकको रुचिलाई ध्यानमा राखेर निर्धारण समयभन्दा अगाडि उक्त वृत्तचित्रको प्रसारण गरिएको उसले जनाएको छ । भारत सरकारले बीबीसीको प्रबन्ध निर्देशकलाई पत्र लेखेर त्यसको प्रसारण रोक्न अनुरोध गरेको थियो । 'वृत्तचित्र पीडित परिवारको पूर्ण सहयोग र समर्थनले बनाइएको हो, यसले उक्त जघन्य अपराधलाई गहिरिएर बुझ्न मद्दत गर्छ,' उक्त समाचार संस्थाद्वारा जारी बयानमा भनिएको छ ।
भारतका केन्द्रीय गृहराज्य मन्त्री राजनाथ सिंहले कुन परिस्थितिमा र कसरी वृत्तचित्र छायांकनको अनुमति दिइएको सम्बन्धमा छानबिन गर्ने बताएका छन् ।
गृह मन्त्रालयको अनुमति लिइए पनि सर्तहरूको पालना नभएको सिंहले दाबी गरेका छन् । उक्त वृत्तचित्रलाई बीबीसीले नभएर स्वतन्त्र निर्माता निर्देशक उडविनले बनाएकी छन् । भारत सरकारलाई दिग्भ्रमित गरिएको र गलत सल्ला दिएर प्रतिबन्ध गर्न उक्साएको उनले बताएकी छन् । यसलाई बीबीसी र एनडीटीभी लगायत थुप्रै च्यानलमा प्रसारण गरिने तय थियो ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.