February 21, 2016

परिवर्तन र विकल्पको यात्रा न हार्छ न अन्त्य हुन्छ

संविधान, सत्ता र शक्तिको सेरोफेरोमा वरिपरि परिक्रमा गरिरहेको नेपालको राजनीति रंगमञ्चमा नयाँ शक्ति जन्मिएको एक वर्ष पूरा भइसकेको छ । स्थापनाको एक वर्षसंगै यसले लिएर आएको आर्थिक समृद्धिका नारा सबै पार्टीका नेताको मुखमा झुण्डिएको छ । मधेशी, थारु, जनजाति र पहिचानका पक्षधरहरुलाई आपसी विश्वासको वातावरण तयार गरेर मूल प्रवाहमा समाहित गर्दै अगाडि बढ्न सक्नुपर्छ भन्ने नयाँ शक्तिको मान्यतालाई सुरुमा सबैले उपेक्षा गरे । तर अहिलेसम्म त्यही एजेन्डा समाधानको गोलचक्करमा झण्डै दुई वर्ष बितिसकेको छ । हामी कल्पना गर्न सक्छौं, सबैले मुलुकको एजेन्डालाई समयमै बुझिदिन सके के हुन्थ्यो होला ? तर कुनै दूरदर्शी नेता र पार्टीको भिजनलाई सबैले बुझ्न समय लाग्दो रहेछ ।


जगन कार्की

नयाँ शक्तिले सुरु गरेको इन्द्रेणी राष्ट्रवाद र समावेशी विकासको नारालाई कांग्रेसले ‘हामी भित्र म’ भनेर पर्याय बनाएको छ भने लोक कल्याणकारी राज्यको अवधारणा र समृद्धिका नारालाई एमालेले अनुसरण गरेको छ । आर्थिक समृद्धिका नारा माओवादी केन्द्रमा हुबहु सुनिन्छ भने राप्रपादेखि अन्य दल सबै यसै धारणामा आवद्ध हुँदै राष्ट्रिय मुद्दा बन्ने मार्गमा छ ।
नयाँ शक्तिलाई चुनाव चिन्हबाट वञ्चित गराई माओवादी केन्द्र, कांग्रेस र एमालेलगायतका पार्टीहरुले उनीहरुका कार्यकर्ता पलायन हुने र नयाँ शक्तिले राम्रो गर्ने देखेर लोकतन्त्रको नाममा ती दलबाट भएको षड्यन्त्र परास्त गर्दै संघीय समाजवादी फोरमको चुनाव चिन्ह प्रयोग गर्न नयाँ शक्ति पार्टी सफल भयो । यद्यपि बाबुरामलाई भोट हाल्नेले नबुझेर हँसिया हथौडामा भोट हाल्नेदेखि नयाँ चुनाव चिन्हबारे भन्न पनि नपाउने अवस्था थियो । समयका हिसाबले जनतालाई राम्रो सूचित पनि गर्न नपाएको अवस्था थियो जबकि एमाले, कांग्रेसलगायत अरु दलका चुनाव चिन्हहरु स्थापित थिए ।
चुनाव चिन्ह नदिएर पुराना दलहरुलाई रणनीतिक लाभ भएता पनि लोकतन्त्रका नाममा चलाईएको अराजक सिन्डिकेटले शिशु अवस्थाको नयाँ शक्तिलाई केहि नोक्सान भने गराएको देखियो । यो नयाँ शक्तिमाथिको मात्र षड्यन्त्र होइन, यो संस्थागत हुन लागेको कलिलो लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रहार हो । समयक्रमले यो कुरालाई बढी स्पष्ट बनाउँदै लानेछ । किनकी झुटको जगमा फस्टाएकाहरुको यथार्थ समयले सतहमा ल्याइछाड्छ ।
एकातिर चुनावलाई उपयोग गर्दै देशका प्रत्यक वार्डसम्म उमेद्वारका रुपमा नयाँ शक्ति संगठन पुग्दै गर्दा उसको उपस्थिति नै जितको सुरुवात थियो भने अन्तरिक जटिलताले गर्दा जनताको ठूलो अपेक्षाअनुसार संगठन विस्तार र परिचलन हुन नसक्नु तितो यथार्थ भयो ।
एक वर्षमा नयाँ शक्तिको दर्शन, राजनीतिक, आर्थिक कार्यदिशा र संगठन बिस्तारजस्ता चुनौती पूर्ण रुपमा सफल भएका छन् भने राष्ट्रका हरेक चुनौतीको रचनात्मक सुझाव र सहयोगको पहल देखि विकृतिहरुको पहरेदार भई हरेक हत्कन्डा र अनियमितताहरुको निरन्तर खबरदारी गर्ने एक सशक्त पहरेदारको रुपमा उभिन सफल भएको छ ।
जनजातिको भावनासँग अडेको पहिचानको मुद्दादेखि मधेशी, थारु, आदिवासी, मुस्लिम, दलित र उत्पीडित्हरुको पार्टीभित्र आन्तरिकरुपमा पूर्ण समावेशिताको अभ्याससँगै तिनीहरुलाई गोलबद्ध गर्दै विश्वासमा लिएर अघि बढ्न सफल हुनु यसको अर्को ठूलो विजय हो । जुन कुरा अरु दलहरुले जबर्जस्ती गरेका कर्मकाण्डी व्यवहार र नयाँ शक्तिले गरेको व्यवहारिक अभ्यास छर्लङ्ग देखिन्छ ।
हो, राजनीतिक स्थायित्वको लागि देखावटी हैन, व्यवहारमा पूर्ण समावेशी राज्य चरित्र सबै जात, जाति, धर्म, वर्णको आफ्नै सहभागिताले गरेको तिनको पहिचान, हक-हितको संरक्षण र प्रत्याभूति नै समृद्धिको आधार स्तम्भ हो । जुन कुरा नयाँ शक्तिको जबर्जस्त मान्यताको रुपमा स्थापित भएको छ भने अन्य पार्टीहरु परिबन्द र औपचारिकताका लागि मात्रै मानेको जस्तोगरी अभ्यास गरिरहेका देखिन्छन् ।
अन्तरिक लोकतन्त्र, विविध स्वार्थ समूहको व्यवस्थापन र पुराना शक्तिहरुसँग लड्ने चुनौती चानचुने चुनौती थिएन तर यो एक चरणको चक्र पूरा गर्न सफल भएको छ नयाँ शक्ति ।
पार्टी गठनको अभियान नै मधेशबाट सुरुगरी मधेशको मुद्दामा सहानुभूति राखेर मधेस झरेका डा. बाबुरामले उपेन्द्र यादवको चुनाव चिन्ह प्रयोग गर्न मात्र सफल भएनन्, उनको पार्टी र मधेसलाई चुनावमा भाग लिन प्रोत्साहन गरी संविधान कार्यन्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्न सफल भएका छन् भट्टराई र सिंगो नयाँ शक्ति ।
संविधान बनाउँदै गर्दा सबै पार्टीले संसदीय व्यवस्था मान्ने सहमतिसहित ९-९ महिने सत्ताको सिन्डिकेट चलाउने विकृतिकोविरुद्ध प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि विश्वव्यापी हस्ताक्षर अभियान चलाउने र यो मुद्दा जबर्जस्तरुपमा बोकेको एकमात्र दल हाल नयाँ शक्ति नै रहेको छ भने बुढीगण्डकी प्रोजेक्ट चाइनिज कम्पनीलाई कामचलाउ हैसियतको सरकारले मपदण्डविपरित दिंदा भएको चलखेलमा भण्ड़ाफोर गर्ने एकमात्र दल नयाँ शक्ति नै रहेको छ ।
सहि नेतृत्व कदापि भीडको पछि लाग्दैन । एक भिजिनरी नेतृत्व वा दल केहि समय एक्लै वा अल्पमतमा भएता पनि भीड वा मासलाई यथार्थ दिशानिर्देश गर्न सफल हुन्छ र हुनुपर्दछ । नयाँ शक्तिले लिएको अग्रगमनको वैचारिक पाटो र समृद्धिको नाराले राष्ट्रिय नेतृत्व लिईसकेको अवस्था छ । यस्तै मुद्दाहरुको नेतृत्व र निरन्तर अभ्यासले परिवर्तनविरोधी शक्तिहरुको माखेसाङ्ग्लोलाई चिर्दै जनविश्वास अवश्य जित्न सफल हुनेछ ।
आखिर वैकल्पिक राजनीति न सत्तामा लिप्त हुन्छ न यसका लागि सति जान्छ । बरु चुनावमा हार जित जे भएपनि देश र जनताको समृद्धिका निम्ति निरन्तर परिबर्तनको पक्षमा लागिरहन्छ । परिवर्तनको बाटो सजिलो छैन । बनिबनाउ भ्रस्ट मार्ग तोडेर वैकल्पिक मार्ग खन्दै समृद्धिको गोरेटो पहिल्याउनु चुनौतीपूर्ण छ ।
ठूलो भाग खोज्न आउनेहरु, फेसबुकमा कराएर १०-८ महिनामा समृद्धि खोज्नेहरु, पुराना दलमा फाटेको जुत्ताको मोल खोज्नेहरु, समग्र देशको चरित्र बोकेको दलभित्रको आन्तरिक बाधासँग नै पराजित भएर पलायन भएका केही नेताहरु निराश नभई आफु स्वयं परिवर्तन भई यो निरन्तर यात्रामा लाग्न समयले माग गरेको छ ।
नयाँ शक्ति समृद्धिको अभियान हो, परिवर्तन र विकल्पको यात्रा न हार्छ न अन्त्य हुन्छ । यसर्थ, मशाल चिन्हमा नयाँ शक्तिका पक्षमा गरिएको मतदान विजय पराजय भन्दापनि विकल्प र परिवर्तनका पक्षमा प्रदान गरिएको उत्प्रेरणा हुने छ । विकृति विसंगतिको निरन्तर खबरदारी गर्ने र जनपक्षमा संधैभर उभिने आधार स्तम्भ बन्ने छ । Twitter @jaganbimal

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More