August 7, 2016

च्याउ खेति लहडमा बिदेसिनुको विकल्प -गर्ने तरिका र आम्दाको उपाय

आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन ।’ गतिलो रोजगारी भेेटिएन भन्दै विदेशिने यस्ता युवाका लागि गतिलो प्रेरणा हुन्, मकवानपुरका नवराज ढकाल ।
३३ वर्षीय ढकालले गाउँमै बसेर च्याउ खेतीमार्फत गत वर्ष मात्रै २५ लाख रुपैयाँ चोखो मुनाफा कमाए । १४० वटा टनेलमा च्याउखेति गरिरहेका ढकाललाई अहिले भाइहरुले पनि साथ दिएका छन् ।

अहिले झण्डै १६ रोपनी जग्गामा टनेल बनाएर उनले गरेको च्याउखेतीले गतिलै आम्दानी दिइरहेको छ । 

उनले गतवर्ष गाउँमै किलोको ८० रुपैयाँसम्म लिएर च्याउ बेचे । च्याउको बजारका लागि पनि समस्या नभएको उनको अनुभव छ । ढकालले उत्पादन गरेको च्याउ काठमाडौंका ब्यापारीले गाउँमै पुगेर उठाउँछन् । 


‘च्याउबाट आम्दानी भरपुर छ’ उनी भन्छन्-‘सधैँ एकनासको कमाई हुँदैन । लगातार हार नमानी काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ ।’ ढकालले च्याउ खेती गर्ने प्रविधि काठमाडौंको बलम्बुमा सिकेका हुन् । पालुङमा ७ वर्षअघि च्याउ खेती सुरु गर्नुभन्दा पहिले बलम्बुुमा निकै अध्ययन गरेको उनी बताउँछन् । ‘व्यवसायिक रुपमा च्याउ खेतीमा लाग्न यसको प्राविधिक पक्षबारे जानकारी हुनैपर्छ,’ उनी भन्छन्-‘अन्यथा यसमा गरिने लगानी बमोजिम प्रतिफल हासिल हुँदैन ।’


कसरी गर्ने त च्याउ खेती ?
पहाडी क्षेत्रका गाउँघरमा सहजरुपमा गर्न सकिन्छ च्याउखेती । तर, यसबारे व्यवहारिक ज्ञान भने लिनैपर्छ । यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पनि पर्छ । तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुपर्दैन ।
यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित नै छ ।

नेपालमा खेती गर्न सकिने च्याउ विभिन्न प्रकारका छन् । विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक-फरक किसिमका च्याउ खेती गर्न सकिन्छ । नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती भइरहेको छ । तुलनात्मक रुपमा कन्ये च्याउ अन्यभन्दा सस्तोमा बिक्छ भने अन्य च्याउहरु निकै महंगो हुन्छन् । रातो च्याउको विदेशमा समेत माग छ । काठको ठूटा र मुढामा खेती हुने सिताके च्याउको मूल्य पनि कम्ति छैन ।

च्याउ खेतिका लागि गाउँघरमा सहजै उपलब्ध हुने पराल, केराको पात लगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँस लगायत पनि चाहिन्छ । यि साधन गाउँ घरमा सहज रुपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बिउ सहजै किन्न पाइन्छ ।

कसरी सिक्ने सीप ?
च्याउखेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन । अरुले गरेको एकपटक देख्नुभयो भने पनि सिक्न सक्नुहुन्छ । तर, वयवसायिक रुपमा अघि बढ्न तालिम लिएकै राम्रो हुन्छ । यसले तपाईंको आत्मविश्वास मात्रै बढाउँदैन, व्यवसायमा हुने हानीको जोखिम पनि घट्छ । च्याउखेतीको तालिम त्यति लामो अवधिको पनि हुँदैन ।
विभिन्न संघ-संस्था र सरकारी निकायले नै यसको लागि तालिमहरु चलाइरहेका हुन्छन् । तपाईंले आफ्नो नजिकको कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा गएर बुझ्नुभयो भने तालिमबारे जानकारी पाउनुहुनेछ । गाउँमा च्याउखेतीको तालिमका लागि योजना बनाउनुभयो भने पनि यि निकायले तपाईंलाई सहयोग गर्नेछन् । विभिन्न संघ-संस्थाले गाउँ-गाउँमै पुगेर यस्ता तालिम चलाइरहेका छन् । खेती गर्ने सकिने ठाउँ च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिन्छ । त्यस्तै, गाउँमा आˆनै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन । च्याउ खेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ । गाउँ घरमा यस्तो ठाउँको अभाव पक्कै पनि हुँदैन । रोग र कीरा च्याउखेतीमा हुने खतरा भनेको रोग किराकै हो । यसलाई नोक्सान गर्ने मुख्य रोग नै जंगली च्याउ (कप्राइनस) हो । यो पहिलोपटक आउँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । त्यसैले, यसलाई आउनेबित्तिकै झिकिदिनुपर्छ । यसमा हरियो, पहेँलो, कालो ढुसी आए पनि त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो । अरु कीराले भने यसमा त्यति नोक्सान गर्दैनन् । रोग किराबाट बचाएको च्याउलाई बेलैमा टिपेर बजार पुर्याउन सक्नुभयो भने तपाईंले यो कामबाट हात झिकेर हिँड्नुपर्ने छैन । कृषि बजारबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More