July 21, 2016

रास्ट्र्बादी सरकारले सरकार बचाउन मधेशी मोर्चालाइ ५२ करोड अफर गरेको खुलासा

माओवादीको समर्थन फिर्तासँगै अल्पमतमा परेको सरकार बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ५२ करोडको अफर गरेको खुलासा भएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीकातर्फबाट एमाले महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले यस्तो अफर लिएर आएको खुलासा गरेका हुन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष यादवले पार्टीको बैठक तथा गठबन्धनका नेताहरुसँगको कुराकानीमा पोखरेल र रिमालले ल्याएको ५२ करोडको अफरको खुलासा गरेका हुन् । गठबन्धनकै दुई नेताले रातोपाटीसँगको कुराकानीमा यादवले सुनाएको विषय स्वीकार गरे । तर, उनीहरुले आफ्नो नाम भने गोप्य राख्न आग्रह गरे । काँग्रेस र माओवादी मिलेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले सरकार बचाउनका लागि आफ्ना दूतहरुलाई गठबन्धनका नेताकहाँ पठाएका थिए ।

भयानक अफरको भित्री कथाका एक–एक सूचना पाठकका लागि महत्वपूर्ण हुन सक्छन् । यो सूचना पाएलगत्तै हामीले विभिन्न सूत्रहरु मार्फत यसको पुष्टी गर्ने कोशिष गरेका थियौँ । यही आधारमा विभिन्न तथ्यहरु भेटिए । गठबन्धनका नेताहरुले आफ्ना नाम गोप्य राख्ने सर्तमा यस्तो अफर आएकोवारे अध्यक्ष यादवले ब्रिफिङ गरेको स्वीकार पनि गरे ।
कुरा साउन १ गतेको हो । एमालेका महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विहानै १० बजे तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालय पसेका थिए ।
पार्टी कार्यालयमा त्यस दिन उपस्थित फोरम नेपालकै एक नेताले दिएको जानकारी अनुसार ‘अध्यक्षको च्याम्बर कता हो ?’ भन्ने सोधेर उनीहरु सरासर तीन तल्लामाथि रहेको पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको कार्यकक्षमा पसेका थिए । त्यतिबेलासम्म कार्यालयमा फाटफुट नेता तथा कार्यकर्ताहरु मात्र आइपुगेका थिए ।
अहिले राजनीतिक उथलपुथलका विषयमा दुई नेताबीच कुराकानी भएको होला भन्ने अन्य नेताहरुले अनुमान गरेका थिए । तर, आधा घण्टासम्म कुराकानी गरेर पोखरेल र रिमाल त्यहाँबाट फर्किए । त्यसपछि उपेन्द्र यादवले गठबन्धनमा रहेका नेताहरुसँग पोखरेल र रिमालले ल्याएको अफरबारे ब्रिफिङ गरेका थिए । सरकारको अफरको बारेमा साउन २ गते बसेको कुपण्डोलमा र साउन ३ गते फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकमा यादवले यसबारे जानकारी दिएका थिए । यस बैठकमा अशोक राईदेखि शरत्सिंह भण्डारीसम्मका शीर्ष नेता उपस्थित थिए ।
गठबन्धनका उपलब्ध नेताहरुसँगको ब्रिफिङमा यादवले सुनाएका थिए, ‘पोखरेलले मधेशको सबै माग पुरा गरिदिने, अरु के के सहयोग चाहिन्छ, सबै सहयोग गर्ने तर काँग्रेस र माओवादीलाई समर्थन नगर्न’ आग्रह गरेका थिए । यादवले त्यति मात्र होइन, त्यहीँ ब्रिफिङमा ५२ करोड अफरको विषय पनि सुनाएका थिए । ‘उहाँहरुले ५२ करोड रुपियाँको लोभसमेत देखाएर गएका छन् ।’ सरकार बचाउन प्रधानमन्त्रीले ठूलो रकमसहितको अफर पठाएको कुरा सुनेपछि त्यसदिन छलफलमा सहभागी गठबन्धनका नेताहरु अच्चम परेका थिए ।
उपेन्द्र यादवले गठबन्धनका नेताहरुलाई बताए अनुसार पोखरेल र रिमाल दुई वटा सुटकेश बोकेर आएका थिए । भेटमा पोखरेलले ‘तपाईहरुको आन्दोलनमा खर्च भएको होला, तपाईसँग ४२ जना सभासद् छन् । सबैलाई एक–एक करोड अरु बाँकी आन्दोलनको खर्च, अरु पछि पनि सहयोग गरौंला’ भनेको अध्यक्ष यादवले आफ्ना नेताहरु समक्ष राखेका थिए । यादवले आफुुले पोखरेल र रिमाललाई ‘रेल प्लेटफर्मबाट हिँडिसक्यो । अर्कै रेल चढिसकेका छाँै । अब अर्को चढ्ने सम्भव छैन,’ भनेको समेत गठबन्धनका नेताहरुलाई सुनाएका थिए । यादवले गठबन्धनका नेताहरुलाई सुनाए अनुसार पोखरेलले एकपटक पुनः विचार गर्न आग्रह समेत गरेका थिए ।
रातोपाटीसँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष यादव र एमालेका महासचिव पोखरेलले कुनै कुराकानी नभएको दावी गरेका छन् । रातोपाटीले पोखरेलसँग सम्पर्क गर्दा उनले आफू उपेन्द्र यादवलाई भेट्न नगएको र त्यस्तो छलफलबारे केही थाहा नभएको बताए ।
उपेन्द्र यादवले पनि एसएमएस मार्फत जवाफ दिँदै ‘फल्स न्युज’ भएको छोटो प्रतिक्रिया दिए । यता विष्णु रिमालको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा फोन उठ्न सकेन ।
ओलीले यस अघि काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्दै पौडेललाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । देउवाले ‘टू लेट’ भन्दै र पौडेलले ‘सदासयताका लागि धन्यवाद’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले भारतको इसारामा आफ्नो सरकार ढाल्न खोजिएको बताउँदै आएका छन् । उनले संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने बताएका छन् । अब करिब ५० सांसदले ओली सरकारको समर्थनमा मतदान गरे उनको सरकार बच्न सक्छ ।
केही बर्ष अगाडि प्रचण्डको नेतृत्वमा सरकार बनाउन भन्दै माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको भनिएको विवादास्पद टेलिफोन संवाद बाहिर आएको थियो । नेपालको संसदीय राजनीतिमा सत्ताको खेलमा साम, दाम, दण्ड, भेद सवै हुँदै आएका छन् । रातोपाटि मार्फत 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More