February 7, 2016

नेपाल बनाउन नया शक्तिले ल्यायो ५ 'स' को मूल मन्त्र - के छ त यो सम्भव देखिएको ब्यबहारिक मार्गचित्रमा?

नयाँ शक्ति, नेपाल एउटा पार्टी मात्र नभएर नयाँ युगको नयाँ आवश्यकता पूर्ति गर्ने वैकल्पिक राजनीतिक धार वा प्रवृत्ति हो । यो समाजवाद उन्मुख वाम–लोकतान्त्रिक शक्ति हुनेछ । यसका प्रमुख प्रतिबद्धताहरुलाई पाँच ‘स’को रुपमा यसरी परिभाषित गरिएको छ :
१. स्वाधीनता
नेपालको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा र संवद्र्धन हाम्रो पहिलो प्रतिवद्धता हो । देश र जनताको पूर्ण स्वाधीनता र मुक्तिलाई हामी सधैं अग्रस्थानमा राख्नेछौं । भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा रहेको विशिष्ट भूराजनीतिक अवस्थितिलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै देशको गौरव बढाउने युगसापेक्ष राष्ट्रिय सुरक्षा र विदेश नीति अवलम्बन गरिनेछ । त्यस निम्ति पुरानो ‘दुई ढुंगा बीचको तरुल’को बिम्बको सट्टा ‘दुई विकसित छिमेकी बीचको गतिशील पुल’को नयाँ बिम्ब निर्माण गर्दै दुवैको तीव्र आर्थिक विकासबाट लाभ लिने र छिटो समृद्ध र अन्तरनिर्भर बन्ने नीति अनुसरण गरिनेछ । आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धि कायम गरेर विगतदेखि रहँदै आएको परनिर्भरताको अन्त्य गर्ने ‘प्रगतिशील राष्ट्रवाद’को पक्षपोषण गरिनेछ । संसारका सबै देशसंग समानता र पारस्परिक हितका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गरेर विश्व शान्तिको निम्ति योगदान गरिनेछ ।


२. समतामूलक समृद्धि
नयाँ शक्तिको मुख्य लक्ष्य र औचित्य हाम्रै जीवनकालमा नेपाललाई समृद्ध र सुखी मुलुकमा रुपान्तरण गर्नु हो । हामी चाहन्छौं– दश वर्षभित्र देशबाट निरपेक्ष गरीबी र बेरोजगराीको अन्त्य होस्; बीस वर्षभित्र देश मध्यमस्तरको विकासको स्तरमा पुगोस्; चालिस वर्षमा नेपाल समृद्धिको शिखरमा पुगोस् । हामी रोजगारी र सामाजिक न्याय सहितको तीव्र आर्थिक वृद्धिको नीति अनुसरण गर्नेछौं । त्यसनिम्ति विज्ञहरु र निजी क्षेत्र सहितको संलग्नतामा आर्थिक विकास र समृद्धिको कार्ययोजना तयार गरेर युद्धस्तरमा कार्यान्वयन गरिनेछ । साथै विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुर्याउने; निजी क्षेत्र र राज्यको समुचित सहकार्य हुने; कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित योगदान हुने; स्वदेशी र विदेशी लगानी तथा श्रम र प्रविधिको उचित संयोजन हुने; विकास र वातावरणको सन्तुलन कायम हुने गरी मौलिक र व्यवहारिक विकास नीति अनुसरण गरिनेछ । भौतिक समृद्धि सँगसँगै मानसिक सुख–शान्ति प्राप्तिमा यथोचित ध्यान दिइनेछ । हामी फोस्रा नारा र भाषणमा हैन व्यवहारमा समृद्ध र समतामूलक नेपाल बनाउँनेछौं ! सुदूर भविष्यमा हैन हाम्रै जीवनकालमा बनाउनेछौं !

३. समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र
नयाँ शक्तिको अर्को महत्वपूर्ण प्रतिवद्धता पार्टी र राज्यका क्षेत्रमा हाल विद्यमान औपचारिक र कर्मकाण्डी लोकतन्त्रलाई आधुनिक युग र देशको विशिष्टता अनुरुप समावेसी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा रुपान्तरण गर्नु र त्यसको व्यवहारिक अभ्यास गर्नु हो । हामी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्रका आधारभूत मान्यताप्रति पूर्ण प्रतिबद्ध रहनेछौं । हामी पार्टी र राज्यका सबै अंगमा हिमाल, पहाड, तराई/मधेसका विविध वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको समावेसी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नेछौं । ऊर्जाशील युवाहरुको प्रतिनिधित्व सबै ठाउँमा गराउन विशेष ध्यान दिनेछौं । हामी अहिलेसम्मका पार्टी र राज्यको अति–केन्द्रीकृत नोकरशाही चरित्रको अन्त्य गर्न प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्र (Direct & Participatory Democracy) को अभ्यास गर्नेछौं । सबै कमिटीहरुमा प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नेछौं । पार्टी र राज्यका अंगमा केही व्यक्ति र परिवारको एकाधिकार र मनोमानी अन्त्य गर्न एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, निर्वाचनमा अस्वीकारको व्यवस्था (Right to Reject), निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने हक (Right to Recall) आदि नवीन प्रयोगहरु गर्नेछौं ।


वर्तमान ‘नेपालको संविधान’मा अपनाइएको मिश्रित निर्वाचन प्रणाली र संसदीय शासकीय प्रणालीले देशमा राजनीतिक स्थीरता दिन सक्दैन र राजनीतिक स्थीरता बिना आर्थिक विकास र समृद्धि असम्भव हुन्छ । यो प्रणाली बदल्नैपर्छ र त्यसनिम्ति तुरुन्त संविधान संशोधन गर्नैपर्दछ । यसकालागि नयाँ शक्ति, नेपालले व्यवस्थापिका र कार्यपालिकाको भूमिका अलग गरी व्यवस्थापिका–संसदकालागि पूर्णरुपले समानुपातिक निर्वाचन प्रणाली र कार्यपालिकाको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउन देशव्यापी अभियान चलाउनेछ ।


४. सुशासन/सदाचार


नयाँ शक्ति, नेपाललाई पुराना शक्तिहरुबाट व्यवहारिक रुपमा छुट्याउने मुख्य कसी सुशासन र सदाचार हो । किनकि अहिले नेपालमा राजनीति र भ्रष्टाचार पर्यायवाची जस्तै बनेका छन् । कतिपय पछिल्ला सर्भेक्षणहरुले राजनीतिक दल र नेताहरु सबभन्दा भ्रष्टाचारी भएको पुष्टि गरेका छन् । त्यसपछि कर्मचारी प्रशासन, न्यायालय र सुरक्षा अंगहरु भ्रष्टाचार र अनियमितताको केन्द्र बनेका छन् । तसर्थ राजनीति र सरकारी सेवालाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासन र सदाचार कायम गर्नु नयाँ शक्ति, नेपालको सबभन्दा महत्वपूर्ण कार्यभार हुनेछ । यसक्रममा सबभन्दा पहिले हामी राजनीतिलाई एउटा निजी व्यवसाय हैन स्वैच्छिक सामाजिक सेवाको रुपमा स्थापित गर्नेछौं । हामी हाम्रा सबै गतिविधि र आर्थिक कारोबारमा पारदर्शिता, जवाफदेहिता, विधिको शासन र भ्रष्टाचारप्रति शून्य–सहनशीलता कायम गर्नेछौं । हाम्रा नेता र कार्यकर्ताहरुमाथि कुनै भ्रष्टाचार, दुराचार र अनियमितताको आरोप पुष्टि भएमा तत्काल कडा कार्वाही गर्नेछौं । सादा जीवन, सरल व्यवहार, श्रमको सम्मान, सामाजिक सद्भाव र उन्नत संस्कृति नयाँ शक्ति, नेपालको सांस्कृतिक पहिचान हुनेछ । हाम्रा कामकारवाहीहरुको मूल्यांकन गर्न र हाम्रा नेता/कार्यकर्तामाथि लागेका सार्वजनिक आरोपहरुको छानविन गर्न हामीले विभिन्न तहमा स्वतन्त्र र निष्पक्ष लोकपाल समूह (Ombudsman Group) गठन गर्नेछौं । जसका निर्णयहरुलाई हामीले नि:शर्त कार्यान्वयन गर्नेछौं । हामी जे भन्छौं, त्यो गर्छौं । जे गर्छौं त्यो स्वार्थरहित, जनताको हितमा गर्छौं ।


५. समुन्नत समाजवाद


नेपाली समाज भर्खरै मात्रै निरंकुश, एकात्मक सामन्ती युगबाट पूँजीवादी युगमा प्रवेश गरेको छ । परन्तु आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा अझै पनि सामन्ती अवशेषहरु बाँकी छन् । ती सामन्ती अवेशषहरुको अन्त्य गर्दै राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने र पूँजीवादी लोकतन्त्रलाई अझै विकसित र परिमार्जित गर्ने हाम्रो तत्कालीन कार्यभार हो । तर वर्तमान भूमण्डलीकृत एकाधिकार पूँजीवादी विश्वमा हाम्रो जस्तो सानो अल्पविकसित देशमा स्वतन्त्र राष्ट्रिय औद्योगिक पूँजीवादको विकास सहज र सरल छैन । त्यसले परनिर्भर र दलाल चरित्र ग्रहण गर्ने र वर्गीय, क्षेत्रीय असमानता बढाउने सम्भावना बढी हुन्छ । अत: विकसित हुँदै गरेको राष्ट्रिय औद्योगिक पूँजीवादलाई समाजवादको दिशामा उन्मुख गराउनु आवश्यक हुन्छ । सबैलाई शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्नु र सामाजिक सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हुनुपर्छ । परन्तु बिसौं शताब्दीमा प्रयोग गरिएका राज्य–नियन्त्रित वा नोकरशाही समाजवादका मोडेलहरुको पुनरावृत्ति अब सम्भव छैन । त्यसैले नयाँ शक्ति, नेपालले एक्काइसौं शताब्दीको आवश्यकता र नेपालको विशिष्टता अनुरुपको समुन्नत समाजवादको नयाँ मोडेल विकास गर्नेछ । माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरुद्वारा समृद्ध द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनप्रणालीबाट अघि बढेर त्यसको विकास गर्ने प्रयत्न गरिनेछ । त्यो कुनै माथिबाट लादिएको, गरिबी बाँड्ने, व्यक्तिको निजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद होइन परन्तु तलैबाट उठेको, समृद्धि बाँड्ने, व्यक्तिको निजत्व प्रष्फुटित गर्ने सहभागितामूलक समाजवाद हुनेछ । नयाँ शक्तिले तत्काल उद्यमशील राष्ट्रिय औद्योगिक पूँजीको विकासमा जोड दिँदै समुन्नत समाजवादको आधार तयार गर्नेछ । नयाँ शक्ति, नेपाल कुनै विचार विहीन झुण्ड नभएर मानव जातिले आविष्कार गरेका पछिल्ला ज्ञान र विज्ञानलाई अंगीकार गरेर निरन्तर अगाडि बढ्ने अग्रगामी प्रगतिशील शक्ति हुनेछ ।


२०७२ माघ २३


(नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदद्वारा सार्वजनिक गरिएको पाँच ‘स’को प्रतिवद्धता)

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More