October 13, 2014

वी पी कोइरालाको भाषण आजपनि उत्तिकै महत्तोपुर्ण छ-देश भक्तहरुको भासण महाबाणी सरह रहन्छ

गाउँमा बस्ने निमुखा जो डर र त्रासले बसेको छ, उनीहरुसित भेटेर, उनीहरुको भावना बुझौ भनेर नै हामीहरु देशको विभिन्न भागमा घुम्दै छौ । तर भय–त्रास देखाएर, झुट्टा प्रचारहरु गरेर, बाटो रोकेर— मेरो कुरा जन समक्ष नपुगोस् भन्ने प्रयासमा, बीस वर्षदेखि तपाईहरुले जुन कुरा सुन्दै आउनु भएको छ, त्यसबाहेक अरु कुरा— प्रजातन्त्रको कुरा तपाईहरुको कानमा नपरोस् भन्ने प्रयासमा सरकार लागेको छ । आज यत्रो संख्यामा तपाईहरु यहाँ आउनु भएको छ, हाम्रो कुरा सुन्न । त्यही बीस वर्षसम्म सुनिरहनु भएको कुरालाई सुन्न आउनु भएको होइन । हामीहरु पनि नयाँ कुरा भन्न आएका छौ । हामी त्यही बीस वषैदेखि जुन व्यवस्था छ, त्यसैको विरोधमा बोल्न आएका छौ । त्यस व्यवस्थाले बीस वर्षसम्म हामीलाई गरीब बनायो । यो बीस वर्षमा ठूलो ओहदामा पुगेका २–४ जना बाहेक अरु कसैको भलाई भएन । मलाई सबभन्दा ठूलो दिलचस्पी गाउँको छ । हाम्रो नेपाल गाउँको नेपाल हो । हामी नेपाली गाउँ–वासी हौं । चाहे पहाडका नेपाली हुन्, चाहे तराईका या चाहे काठमाण्डूका हुन् । त्यसैले हाम्रो नेपाल गाउँमा बस्छ । बजारमा, शहरमा ठूला–ठूला दरबार या अट्टालिकामा बस्दैन । त्यसो हुनाले ग्रामीण जनता गाउँवासी जो धुलोमा बस्छ, मिहिनेत गर्छ, तिनीहरुको भलाई कसरी हुन्छ ? यो नियतले आएको संविधान भए मलाई शिरोधार्य छ । होइन र त्यसले किसानहरुको या जुन वर्गको प्रतिनिधित्व हामीले गरिराखेका छौ, त्यो वर्गको हीत गर्दैन भने जस्तोसुकै राम्रो भाषामा लेखिएको संविधान होस्, त्यो मलाई स्वीकार्य छैन ।


म संविधानलाई एउटा त्यस्तो हतियार भनिठान्छु, जसले जनताको भलाई पनि गर्न सक्छ, शोषण पनि गर्न सक्छ । १७ साल पौष १ गतेदेखि अहिलेसम्म रहेको संविधान एउटा त्यस्तो हतियार थियो, जसले तपाई–हामीहरुको शोषण र दमन ग¥यो । त्यो पञ्चायती नामको संविधानको हतियारले यो बीस वर्षसम्म हामीहरुलाई गरीब बनायो । यहाँ तपाईहरु कति किसान हुनुहुन्छ ? म तपाईहरुलाई सोध्न चाहान्छु— यो बीस वर्षमा तपाईहरुको केही उन्नति भयो ? तपाईको झुपडीमा केही सुधार भयो ? २–४ जनालाई छाडेर आम जनतालाई केही फाइदा भयो ? भएन ।

किसान भनेको यो देशको नब्बे प्रतिशत जनता हो । र प्रजातन्त्र भनेको त्यही नब्बे प्रतिशत जनता भनेको हो । त्यसो हुनाले प्रजातन्त्रवादीभन्दा किसानवादी भने पनि हुन्छ । प्रजा भन्ने वित्तिकै तिनै— किसान, तिनीहरुमा र राजामा एउटा मेलमिलापको वातावरण बनोस्, राजाको हीत होस्, राजाको हीत भएन भने देश पनि बिगै्र जान्छ । तर राजाको हीत भनेको मतलव किसानको अहित होइन । तर अहिले त, राजाले अधिकार दिएर किसानले त्यो उपभोग गर्ने वित्तिकै राजाको अहीत हुन्छ भने जस्तो झूट्टो भावना फैलाइएको छ । हामीहरु के भन्छौ भने, राजाको र किसानको— जनता र राजाको हीत होस् र मेलमिलापबाट यो देश अगाडि बढोस् । राजा नभैकन देश चल्दैन र प्रजातन्त्र नभै किसानको भलाई हुँदैन । त्यसैकारण मेलमिलापको आधारबाट देशलाई अगाडि लिएर जाउ भनेर, अनेक खतरा हुँदा हुँदै पनि हामीहरु देशभित्र आयौं । चार वर्षदेखि त्यसबाट धेरै प्राप्ति पनि भयो । कहाँ म जेलमा बसेको मान्छे, जहाँ मलाई ७–७ वटा मुद्दा लागेको थियो र ती प्रत्येक मुद्दामा मलाई फाँसी हुने सम्भावना थियो । तर आज म स्वतन्त्र भएर तपाईहरुसित भेटिरहेछु । तपाईहरुले मेरो कुरा सुन्न पाएरहनु भएको छ । यसरी बातावरण केही खुकुलो त भयो । तर संविधानको प्रश्न आउँदा उही पुरानै व्यवस्था अझै पनि हामीमाथि लादिएको छ । बीस वर्षदेखिको यो ब्यवस्थाका विकल्पको रुपमा हामीहरु छौ । त्यसको पनि बोली सुन्नुस् भनेर म तपाइहरुको अगाडि उभिएको छु । हाम्रो कुरा बीस वर्षसम्म तपाईहरुले सुन्न पाउनु भएन । यो बीस वर्षमा अर्कै कुरा सुन्नु भो, अर्कै भाषा, अर्कै बोली । यो लामो समयमा तपाईहरुले हामीलाई बिर्सनु भयो कि ? तपाई र हाम्रो सम्बन्ध यो बीस वर्षमा कस्तो रह्यो ? तपाईहरुको त्यही भावना बुझौ भनेर म उभिएको छु । हामीहरु नै तपाईहरुको भावनाको प्रतिनिधित्व गर्छौ, डर त्रासमा बसेका तपाईहरुको घाँटीमा अड्केको बोली हामी बोल्न सक्छौ । त्यसैले तपाईहरुसित भेटौं भनेर आएको । अर्को कुरा, संविधानका सम्बन्धमा, यो तपाईहरु किसान दाजु–भाइ, दिदी–बैनीहरुलाई दृष्टिमा राखेर बनाइएको संविधान होइन । त्यसैकारण यो प्रजातान्त्रिक छैन । र यो संविधानले राजाको पनि बडो अहित गरेको छ । राजालाई धेरै अधिकार आफ्नै हातमा भए जस्तो लाग्ला तर यो संविधान प्रयोगमा आएपछि अधिकार त केवल कागजको खोष्टो मात्रै रहन्छ ।

ठूला–ठूला महल र अट्टालिकामा बस्नेलाई म जनता भन्दिनँ । त्यो त एक प्रतिशत पनि छैन । जो मोटरमा हिडछ, राम्रो लगाउँछ, राम्रो खान्छ । जनता— ती त गाउँमा बस्छन् र तिनीहरुको भलाई कुन राजनैतिक पद्धतिमा हुन्छ ? तर्पाहरु देशका जनता— किसानहरुको सामु उभिदा मलाई सधै यो सम्झ्ना भैरहन्छ— म प्रधान मन्त्री छँदा, २०१६ सालतिर प्लानिङ, कमिशनको बैठक भइरहेको थियो । अब देशमा के के विकास गर्ने भन्ने छलफल भैरहेको थियो । त्यहाँ एउटा भित्तामा महाराजाधिराजको तस्वीर पनि थियो । हो, महाराजाधिराजको तस्वीर रहनै पथ्र्यो । त्यहाँ विकासका सम्बन्धमा मेरो राय सोधिदा मैले लामो भाषण दिइनँ । केवल एउटा कुरा भने— अर्कोपट्टि भित्तामा अर्को एउटा तस्वीर राख्नोस—् गाउँमा हलो लिएर झुपडीमा उभिएको किसानको तस्वीर । जहिले पनि कोठामा पस्दाखेरि त्यो किसानको तस्वीर तपाईहरुको आँखाको सामुन्यमा रहोस् । त्यसो भए तपाईहरुले कसको भलाई गर्ने हो, त्यो बिर्सनु हुने छैन, कसको निमित्त विकास गर्ने हो, त्यो बिर्सनु हुने छैन । यसरी गाउँको–गाउँमा बस्ने किसानको भलाइलाई सर्वोपरि राखेर योजना—तर्जुमा गर्नु पथ्र्यो ।

तर त्यसपछि अहिले सम्म यहाँ अर्कै व्यवस्था रहे देशको उत्थान गर्नेलाई, विकास गर्नलाई भनेर । यसवाट देशको विकास त भएन–भएन । आज यसले देशको अस्तित्वनै खतरामा पुगेको छ । महाराजाधिराजले पनि फाल्गुण ७ गतेको सन्देशमा, यो देश ठूलो खतरामा पुगेको कुरा हुकुम भएको छ । म प्रधान मन्त्री छँदा त त्यो खतरा थिएन । मैले कहिल्यै पनि जनताको अगाडि आएर भन्नु परेन— देश खतरामा छ भनेर । देशलाई खतरामा उभ्याउने त्यो पौष १ गते २०१७ सालको कारवाही जवाफदेही छ । र यो खतरालाई हटाउने हो भने त्यस बखत चालिएका कदमलाई बिस्तारै–विस्तारै हटाउँदै जानु पर्छ । नत्र भने, आज बीस वर्षसम्म इलाज गरिरहेको रोगबाट रोगी मर्न थाल्यो भनेर फेरि पनि त्यही ओखती पिलाउने होइन— अर्को ओखती खुवाउनु पर्छ । बीस वर्ष सम्मको त्यो ओखतीले अब देशको रक्षा हुँदैन । बीस वर्ष पहिले जुन व्यवस्था थियो त्यसलाई अचानक हटाइयो । अब फेरि हामी त्यही व्यवस्थामा जानुपर्छ । त्यति भए हाम्रो देश बच्छ नत्र बच्दैन ।

तपाईहरुले हामीलाई जुन स्नेह र सत्कार दिनु भयो— बीस वर्ष पछि घर फर्केको परिवारको एउटा सदस्यलाई जस्तै त्यही स्नेहको आधारमा हामीहरु राजनीति गर्छौ । जबसम्म हामी बाँछौ तबसम्म— तपाईहरुको, यो देशमा प्रजातान्त्रिक हीतको भलाई हामी गरिनै रहने छौ ।
(साभारः वी. पी. कोइरालाका भाषणहरु, जयनेपाल प्रकाशन, २०३८) (पृ. ४—७ सम्म)

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More