November 5, 2012

दाँत स्वस्थ राख्न के गर्ने?


दीपक दाहाल- 
दुखेर खप्न नसक्ने हुन्जेल वा गिजा सुन्निएर ज्वरो नफुट्दासम्म दाँतको समस्या भएको ठानिन्न। न परीक्षण नै गर्ने वानी छ। जथाभावी खानपानले दाँतको समस्या बढ्दै गएको छ। 
कम हेरचाह, गुलियो खाना, फास्ट फुड, चकलेट, विस्कुट चाउचाउ जस्ता खानाले दाँतको समस्या थप्दै लगेको बरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुशील कोइराला बताउँछन्। नेपालमा करिब ६५ देखि ७० प्रतिशत बालबालिका र ९० प्रतिशत बयष्कका दाँतमा कुनै न कुनैसमस्या छ।

स्कूल जाने बालबालिकालाई अभिभावकले घरैबाट खानेकुरा पठाउनु भन्दा पैसा दिएर पन्छिने बानी छ। जथाभावी खानेकुरा किनेर खाँदा बालबालिकामा समस्या बढी रहेको डा.कोइरालाको तर्क छ। 
नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. सुदिन शाक्यका अनुसार सहरी क्षेत्रमा दाँतमा कीरा लाग्ने र ग्रामीण क्षेत्रमा गिजाको समस्या बढी छ। डा.शाक्य भन्छन्, 'झण्डै दुई तिहाई नेपालीको दाँतमा कीराले खाएको छ।'

धेरैजसो अवस्थामा किराले खाएर नशा नछुँदासम्म दुख्न नथाल्ने भएकाले गम्भीर अवस्था नहुँदासम्म अस्पताल नआउने चिकित्सकको भनाई छ। 'सबै उमेरका मानिसले दाँत गुमाउनुपर्ने प्रमुख कारण यहि हो', उनले भने। 

डा.शाक्यका अनुसार कीराका साथै गिजामा हुने समस्या, दाँत सुन्निने, दाँतको कारण अनुहार सुन्निने, गिजामा फोहोर जम्मा भएर रगत आउने समस्या बढ्दै गएको छ। डा.कोइरालाका अनुसार सुन्दर देखिन दाँत मिलाउने चलन र दुर्घटनाका कारण दाँत बिग्रिने दर पनि बढीरहेको छ। त्यसैगरी सुर्तिजन्य पदार्थले गिजा, मुखमा क्यान्सर हुने दर बढाएको छ। 

खाना चपाएर पचाउने योग्य बनाउने दाँतलाई खानाले नै बिगार्छ। डा.कोइरालाका अनुसार बढी गुलियो खाँदा र त्यस्तो पदार्थ मुखमा धेरै समय राख्दा अमिलोपन बढेर ब्याक्टेरियाले आक्रमण गर्छ। फास्टफुड पनि दाँतमा टाँसिएर कीटाणु उत्पन्न भई क्षती पुग्न थाल्छ। दाँत किराले खाने कारणमा दाँतका लेउमा भएका किटाणुले खानालाई बिकारका रुपमा अम्ल बनाउनु हो। अम्लले नै दाँतको बाहिरी सतह खियाउँदै दाँतमा प्वाल पनि पार्छ। 

उचित सफाइ अभावमा ब्याक्टेरिया बढ्दै जाने र ल्याक्टिक एसिड बन्ने चिकित्सक बताउँछन्। यो अम्लले दाँतको बलियो खोल अर्थात् इनामेल नष्ट गर्दै लान्छ। खानापछि तत्काल कुल्ला नगरे मुखका कणलाई करिव २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गर्छ। ब्याक्टेरियाका कारण उत्पन्न हुने अम्ल मुखको र्यावलसँग मिलेर टाँसिने पदार्थ बन्छ। धेरैबेरसम्म टाँसिदा कडा भएर दाँत र गिजामा असर पुर्या उन थाल्छ। 
'दाँत माझ्ने तरीका मात्रै जान्ने हो भनेपछि बच्न सकिन्छ', डा.कोइरालाले भने, 'बेलुका सुत्नु अघि र विहान खानापछि दाँत माझ्नु सबैभन्दा बैज्ञानिक तरीका हो, रातभर कीटाणु बढ्न दिएर बिहान केही नखाँदै माझ्नुको धेरै अर्थ हुन्न।' सरसफाइमा मात्रै ध्यान दिए ५५ देखि ६० प्रतिशत दन्त रोगको दर कम गर्न सकिने कोइराला बताउँछन्। 

उनका अनुसार दाँत बिग्रिन्छ भनेर खान/खुवाउनै छोड्ने भन्दा यसले दाँतमा कस्तो असर पुर्याोउँछ भन्ने जानेर सावधानी अपनाउनु बुद्धिमानी हो। दाँतमा कालो खैरो दाग देखिने, खाना अडकन सुरु गरे, चिसो वा तातो खाँदा दाँत सिरिङ्ङ गर्न थाले दाँत प्वाल परेको हुनसक्छ। 
दाँत र मुखको उपयुक्त हेरचाह गरे भर्खरै किरा लाग्न शुरु समस्या रोक्न सकिन्छ। शुरुको अवस्थामा रोकथाम र उपचार गर्न सके दाँत निकाल्नुपर्ने, खाना खान नसक्ने, दाँत दुख्ने, बोल्न नसक्ने जस्ता समस्यावाट छुटकारा पाउन सकिने विज्ञ बताउँछन्। 

दाँत सुरक्षाका लागि बाल्यकालदेखि नै ध्यान पुर्यानउनु पर्छ। आइसकेपछि बच्चालाई दुध, लिटो खुवाइ सकेपछि राम्रोसँग सफा गरेन भने दाँत किराले खानसक्ने डा.कोइराला बताउँछन्। 'आमाले बच्चालाई सुताएर दुध खुवाउँदा पनि समस्या आउन सक्छ। स्तनपान नगराई बच्चालाई बोतलको दूध खुवाउनाले पनि दाँत बिग्रिन्छ।' 
किराको समस्याबाट छुटकारा पाउन दिनको दुइपटक खाना खाइसकेपछि फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नु पर्छ। बच्चालाई माझ्न सिकाउनु पर्छ। माझेर आएको फिँज केही समय मुखमा राख्दा दाँतलाई सफा राख्न मद्दत पुग्छ। 
'गुलियो खानेकुरा खानु हुँदैन। पोषिलो खानेकुरा खानुपर्छ', डा.कोइराला भन्छन् 'कतिपय दाँतका समस्या पोषणका कारण भएका हुन्छन्।' 

खाना खाएपछि गिजामा फोहोर बस्छ। धेरै फोहोर जम्मा भए पछि रगत आउँछ। समस्या बढ्दै गए दाँत हल्लिने र निकाल्नै पर्ने हुनसक्छ। 
दाँतका विरामीलाई विस्तारै पेट सम्बन्धी समस्या थपिन्छ। 'चपाउन सकिएन भने आन्द्रा र पेटमा राम्रोसँग पाचन क्रिया हुनसक्दैन। जसको कारण पेटको समस्या बढ्दै जान्छ।' 
कम्तिमा ६-६ महिना अन्तरालमा दाँत जचाउनु पर्ने डा. शाक्यले बताए। उनका अनुसार गुलियो कम खाने र खाइ हाले पनि खानेवित्तिकै कुल्ला गरे पनि धेरै हदसम्म दाँत जोगाउन सकिन्छ। 

दाँत स्वस्थ राख्न 
बिहान र बेलुका ब्रस गर्ने
ब्रेक फास्टपछि ब्रस गर्नु राम्रो
नियमित परीक्षण गर्ने
गुलियो कम खाने 
खाएपछि कुल्ला गर्ने 
नरम ब्रस प्रयोग गर्ने

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More