May 3, 2011

भन्छन लोग्ने मान्छे भएर रुना हुन्न भनेर ...के साच्ची रुन हुन्न त ?


By Sarad Chirag
सम्पूर्ण लोग्नेमान्छेहरूलाई समर्पित गरेर डानिएल कार्थकले एउटा गीत लेखेका छन्-'भन्छन्, लोग्नेमान्छे भएर रुनु हुन्न रे ।' यसलाई गाएर चर्चित बनाइदिए, योगेश्वर अमात्यले ।
हो, लोग्नेमान्छे भएर रुनु हुन्न वा लोग्नेमान्छे रुँदैनन् भन्ने भनाइमाथि नेपालमा मात्र होइन, संसारभरि नै धेरै चर्चा हुँदै आएका छन् । अहिले इन्टरनेट पेजहरूमा- योसँगै महिला किन ईष्र्यालु हुन्छन् ? महिलाको उमेर किन सोध्नु हुँदैन ? के पुरुषभन्दा महिला बढी इमानदार हुन्छन् ? तपाईं बुवा र आमामध्ये कोसँग बढी नजिक हुनुहुन्छ ? जस्ता धेरै प्रश्नहरूमाथि भएका बहस पढ्न सकिन्छ ।

यस्ता प्रश्नका उत्तर म्याथमा जस्तो एउटै हुँदैन, सर्वमान्य हुँदैन । जस्तो, लोग्नेमान्छे कहिल्यै रुँदैनन् भन्न सकिन्न । मनोचिकित्सक डा. निराकारमान श्रेष्ठ भन्छन्, 'कुनै-कुनै लोग्नेमान्छे महिलाभन्दा पनि बढी रुन्छन् ।' फेरि यस्तो पनि हुन्छ, केही महिला पुरुषभन्दा पनि कम रुन्छन् । यो व्यक्तिअनुसार फरक पर्छ ।
रुने कुरा हाम्रो संवेदनासँग जोडिएर आउँछ । जब मान्छेको संवेदनालाई अतिसय पीडाले हल्लाउँछ भने ऊ भक्कानिन्छ र आँसु र्झछ । यो स्वाभाविक प्रक्रिया हो, महिला र पुरुष दुवैको हकमा । किनभने संवेदना महिला र पुरुषमा उस्तै हुन्छ । जस्तो कि लोग्नेमान्छे खुसी हुनु र महिला खुसी हुनुमा के फरक हुन्छ र ? आफन्त, पि्रयजनसँग बिछोडिनुको पीडा, असफल हुनुको पीडा, अकस्मात कुनै सफलता हात पर्नुको खुसी सबैलाई उस्तै त हुन्छ । महिला र पुरुष दुवै उस्तैगरी रमाइलो गर्छन्, चिच्याउँछन्, कराउँछन्, रिसाउँछन् ।
हो, संवेदनालाई महिलाको मात्र 'ट्रेडमार्क' बनाइएको छ । तर यो महिला र पुरुषमा फरक हुँदैन । यसलाई अभिव्यक्त गर्ने तरिकामात्र फरक हो । तर यसले नै हाम्रो समाजको पुरातन मान्यता अनुसारको पुरुष र महिला आचरण निर्धारण गर्नमा सहयोग पुर्‍याई आएको छ । किनभने महिला र पुरुषले कस्तो व्यवहार गर्नुपर्छ भनेर हाम्रो समाजले एउटा 'माइन्ड सेट' गरेको छ । त्यसै अनुसार बच्चाहरू हुर्किन्छन् ।
जस्तै दुःख पर्दा पनि मैले रुन हँुदैन भन्ने हजुरबा हजुरआमा वा बाआमाका कुरा सुनेर छोराहरू हुर्कन्छन् । छोरी रोइन भनेचाहिँ ल हेर यो त सानैदेखि छोराजस्तो छे, रुँदैरुँदिन भन्ने धेरै बाआमा हामीले देखेका छौं । छोरीहरू अलि ठूली भएपछि कतै पढ्छन्- महिलाको हतियार आँसु हो । यस्तो मेन्टालिटी लिएर हुर्कने छोरा र छोरी कस्ता हुन्छन्, अनुमान गर्न गाह्रो छैन ।
रिडर्स डाइजेस्ट म्यागाजिनमा प्रकाशित एक लेखमा उल्लेख गरिएको छ, एक वर्षको हुँदैमा बच्चा चलायमान वस्तुहरूप्रति बढी आकषिर्त हुन्छन् । खेलौना पनि उनीहरू कार रोज्छन्, मोटरसाइकल रोज्छन् । बच्चीहरू भने स्थिर वस्तु हेर्छन् । खेलौना पनि पुतली रोज्छन् । यसरी हाम्रो हुर्काइ फरक भएपछि हामीले संवेदनामाथि गर्ने 'टि्रट' पनि फरक हुने नै भयो । लोग्नेमान्छे कठोर देखिनैपर्‍यो । महिला संवेदनशील हुनैपर्‍यो । कथंकदाचित् कुनै लोग्नेमान्छे रोयो भने हाम्रो समाज उसको 'आइमाईकरण' गर्न उद्यत हुन्छ । भन्छ- कस्तो आइमाईजस्तो रोएको ?
मनोविदहरूले 'जेनरेलाइज' गरेका केही प्रश्न छन््, वयस्क पुरुष र महिलाका सन्दर्भमा । जस्तो, महिलाहरूको सधैं गुनासो हुन्छ, 'तिमी मलाई कहिल्यै सुन्दैनौ, सिरियस्ली लिँदैनौ । अनि मसँग समय बिताउँदैनौ ।' पुरुषको जवाफ- 'म यो विषयमा अहिले कुरा गर्न चाहन्न, अरू कुरा गर न' भन्ने हुन्छ । भलै यसले सबै महिला र पुरुषको प्रतिनिधित्व गर्दैन, तर हाम्रो समाजले महिला र पुरुषप्रति गर्ने अपेक्षा र उनीहरूको अवस्थालाई भने चित्रण गर्छ ।
मनोचिकित्सा क्षेत्रमा भएका धेरै अनुसन्धानहरूले लोग्नेमान्छेको 'इमोसनल लाइफ' पनि महिलाको जत्तिकै 'रिच' भएको देखाएका छन् । तर त्यो इमोसन अभियक्त गर्ने तरिकामा फरक परेको हो । डा. निराकारमान श्रेष्ठ भन्छन्, 'महिला र पुरुषको मनोविज्ञान फरक हुन्छ, तर पुरुषहरू संवेदनहीन हुन्छन् भन्नेचाहिँ होइन ।' यसमा माथि भनिएजस्तै समाजको बनोट र हाम्रो संस्कारले काम गरेको हुन्छ । अहिलेसम्म हामी पितृसत्तात्मक पारिवारिक संरचनामै छौं । यस्तोमा घरको मूली लोग्नेमान्छे नै हुने भयो । कुनै दुःखमा घरको मूली नै रोयो भने, सम्हालिएन भने अरू बाँकीलाई कसले सम्झाउने, कसले सम्हाल्ने ? 'यही प्रश्नले जेलिएर हरेक लोग्नेमान्छेले आफूलाई कठोर बनाउन सिकेका हुन्छन्', डा. श्रेष्ठ भन्छन् ।
पुरुष किन हत्तपत्त रुँदैनन् भनी विश्वभर भएका बहस पनि रोचक नै छन् । मनोविद डा. जोश कोलम्यानले आफ्नो पुस्तक 'द लेजी हज्बेन्ड'मा भनेका छन्- पुरुषले आफ्नो जीवनको पृष्ठभागमा मात्र संवेदनालाई ठाउँ दिन्छन् । त्यसैले आँसु झारेको देखिँदैन । महिलाले भने संवेदनालाई आफ्नो जीवनको पृष्ठभागमा सजाएर राख्छन्, त्यसैले आँसु देखिन्छ ।
पुरुष संवेदनशील हुने भए पनि संवेदनाप्रति भावुक प्रतिक्रियाचाहिँ हत्तपत्त जनाइहाल्दैनन् । र त्यसलाई महिलाले भन्दा चाँडै भुल्छन् पनि । रिडर्स डाइजेस्टले अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा गरिएको एक अध्ययनका आधारमा भनेको छ, एकदमै धेरै दुःख पर्दा त्यसको असर पुरुषभन्दा महिलाको मस्तिष्कमा ज्यादा पर्छ । तीन हप्ता पछिसम्ममा अधिकांश पुरुषले आफूलाई परेको दुःख लगभग भुलिसकेका हुन्छन् । तर महिलाको मस्तिष्कमा त्यसको तस्वीर अझै गाढा भएर बसेको हुन्छ ।
रुने कुरा निजी हो । तर मनोचिकित्सकहरूले रोएर पनि स्वस्थ हुन सकिन्छ भनेका छन् । 'हो, रुँदा मन हलुको हुन्छ । आइसकेको आँसु नरोक्नु नै राम्रो', डा. निराकारमान श्रेष्ठ भन्छन् । फेरि रुने कुरा सधैं दुःख परेरमात्र हुँदैन । कहिलेकाहीं 'स्ट्रेस' धेरै नभएको बेला पनि भावनात्मक कुराले धेरै छोयो भने मान्छे रुन्छ । धेरै खुसी हुँदा पनि आँसु र्झछ । यसलाई स्वाभाविक मान्नुपर्छ । डाक्टर श्रेष्ठ भन्छन्, 'लोग्नेमान्छे भएकैले रुनु हुँदैन भन्ने केही छैन ।'
This article was published on Ekantipur.com, falgun 20, 2068

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More