August 24, 2021

समावेसिता र दीगो आर्थिक विकासको आधारस्तम्भ बन्न सक्छ वित्तीय प्रविधि

डा. जगन कार्की 

वित्तीय व्यवस्थालाई प्रविधि मैत्री बनाउने अवसर नेपाल जस्तो विकासोन्मुख देशलाई पुनः एकपटक कोरोना महामारीले लिएर आएको  छ । प्रविधि मैत्री वित्तीय व्यवस्था नेपालको अर्थतन्त्र सुधारको दीगो विकास, सुधार र बिश्व बजारसंग जोड्ने एक प्रमुख माध्यम बन्न सक्छ ।

कोरोनाले अवरुद्ध अर्थब्यवस्थालाई नया ढंगले अघि बढ़ाउन,  ठूलो परिमाण ओगटेर बसेको अनौपचारीक अर्थतन्त्रलाई मूल प्रवाहमा ल्याउन, बैंक तथा वित्तीय व्यवस्थाको आधुनिकीकरण गर्न, महामारीले खोजेको मुद्राको विकल्प दिन, आधा जस्तो जनसंख्यामा विद्यमान वित्तीय असमावेसितालाई सम्बोधन गर्न वित्तीय प्रविधि (फ़िन्टेक) नेपाल जस्तो देशमा साझा अस्त्र बन्न सक्छ ।

हाल नेपालमा चलनमा रहेका चिनियां पेमेन्ट गेटवे विच्याट, अलि पेले चीन संगको ब्यापार विस्तार गर्न मद्दत पुर्याएका छन् भने अनलाइन व्यापारको अर्को मुख्य कडी भनेको भिसा र मास्टर कार्ड जस्ता कार्डहरु पोखरा काठमाडौँ जस्ता शहरी क्षेत्रमा चलेका छन्।  तर यसले अनलाइन पेमेन्ट सिस्टमलाई बढावा दिने भन्दा यो नगद निकाल्ने र भुक्तानी गर्ने काममा मात्र प्रयोग हुने गरेकाले पुरानै परम्परागत बैंकिंग प्रणालीको निरन्तरतालाई नै टेवा पुर्याएको देखिन्छ  ।

अनलाइन पेमेन्ट सिस्टमको विकास र प्रभाव काठमाडौँ र पोखराजस्ता ठूला शहरमा केही हद सम्म भएको भएता पनि सबै प्रमुख शहरहरुमा पुग्न सकेका छैनन् । भौगोलिक रूपले असहज हाम्रा गाउँघरसम्म पुर्याउनका लागि सहज रहेका प्रविधिहरु शहरमा नै सीमित भईरहेका छन् ।

अहिले विकसित देशहरूमा बढेको वायरलेस कन्ट्याकटलेस टच एन्ड पे टेक्नोलोजी बैंक या वित्तीय संस्थाहरुले उपलब्ध गराएको  कार्डले  र सेवाग्राहीका मेसिनमा छुँदामात्र नगद भुक्तान हुने, एप्पल, आइफोन र एपल  वाचबाट  आफ्नो मोबाइलमा विकास गरेको एपल पे जसमा आफ्नो बैंकखातासंग फोनलाई कनेक्ट गरेपछि सामान र सेवा किनेपछि फोनले नै छोएर मात्र पेमेन्ट गर्न सकिने प्रविधि,  मोबाइल पेमेन्ट सिस्टम,  ब्लकचेन टेक्नोलोजी र अनलाइन पेमेन्ट सिस्टम विकास भएका छन् । यस्ता सिस्टम र सफ़्टवेरहरू विकास गर्दै विश्व बजारमा बिक्रि गर्न थालीसकेको  भारतका  ग्रामीण क्षेत्रहरुमा पनि वित्तीय प्रविधिले राम्रो फडको मार्न  नसकेको अवस्था देखिन्छ ।  भारतले उपकरण र सुरक्षाको समस्या हुने ठाउँहरुमा मोबाइल मानव एटिएम पनि सुरुगरेका उदाहरणहरु छन् । तर  नगद पैसाको चलन हटे एटिएम मेसिनको भविष्य पनि अन्त छिटै नै हुने देखीन्छ ।

बजारमा बढेका मोबाइल तथा वित्तीय प्रविधिहरुलाई मध्यनजर गर्दा दुवै देशहरुसंग हुने सम्भावित बजार कारोबारसंग सहजता ल्याउन  भारत र चाइनाका वित्तीय प्रविधिहरु नेपाल पस्ने निश्चित छ जसरि अलि पे, वि च्याट पे प्रवेस गरिसकेका छन् । वित्तीय प्रविधि सम्बन्धि कानुन र नियमावलीको अभावमा राष्ट्र बैंकले प्रतिबन्ध गरेर पुनः अलि पे र वि च्याट पेले नेपालमा अधिकारिक दर्ता गरेर सेवा सुचारु गरेका छन् ।

अब कोरोना महामारीले विकसित देशहरुमा प्रत्यक्ष बैंक नोट र मुद्राहरुको प्रयोग नै घटेको र धेरै जसो सुपर मार्केटहरुले कन्ट्याक्टलेस पेमेन्ट सिस्टमबाट नै पेमेन्ट लिने गरेका घटना हुन् या इटली, ब्राजिल लगायतका देशहरुमा नोट मार्फत संक्रमण बढेको भन्दै नोटहरुनै फ्यांकेका , नेपालमा सुदूर पश्चिममा रहेको क्वारेन्टीनका मानिसहरुले सामान किन्न खोज्दा नोट नै लिन अस्वीकार गरेका घटनाहरुले विस्तारै नगद नोटको कारोबारको प्रचलन नै घट्दै जाने  देखिन्छ ।  यसरी नोटलाई विस्थापित गर्ने कन्ट्याक्टलेस टेक्नोलोजीको विकास गर्ने अर्थात् मोबाइल मार्फत नै कोड जेनेरेट गरेर किनमेल गर्न सक्ने प्रविधिहरुको बजार माग नेपालको परिप्रेक्षमा पनि बढेको छ ।

विद्युतीय मुद्राको विकास

चीनले यिनै कुराहरुलाई मध्येनजर गर्दै आफ्नो छुट्टै विद्युतीय मुद्रा अर्थात् डिजीटल करेंसीको विकास गरिसकेको छ । त्यस्तै गरेर फेसबुकले पनि लिबारा नामक विद्युतिय मुद्राको विकास गरेको छ ।  त्यस्तै गरेर बिट क्वाइन लगायतका ब्लक चेन प्रविधिका मुद्राहरुले परम्परागत बैंकिंग प्रणाली र मुद्रा व्यवस्थालाई विस्तारै प्रतिस्थापन गर्दै जाने सम्भावनाहरु पनि देखिंदै आएका छन् ।

नेपालमा पनि इसेवा, खल्ती डटकम, आइएमई पे, एनआइसी एसिया जस्ता प्रविधि मैत्री पेमेन्ट गेटवे र वालेटहरुको  प्रचलन बढेका छन् । छुट्टै एप मार्फत पैसा जम्मा गरेर प्रयोग गर्न सकिने र स्मार्ट फोनको प्रयोग गर्नु पर्ने यस्ता एपहरुको प्रयोग गर्ने जमात बढ्दो रुपमा भएता पनि ठूलो संख्यामा रहेको जनसंख्या अझै पनि नगद रकममा कारोबार गर्ने गरेको र अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रुपमा नै चल्ने गरेको देखिन्छ ।

शहरी क्षेत्र र प्रविधि प्रयोग गर्न सक्ने र प्रविधि मैत्री सेवा लिन स्मार्ट फोन तथा इन्टरनेटको सुविधा प्रयोग गर्न सक्ने सामर्थ्य र चेतना भएको जनसंख्या सम्म बढेको भएता पनि सानातिना कारोबार र ठूलो संख्यामा रहेको कृषि प्रणालीमा भर पर्ने  ग्रामीण अर्थतन्त्रलाई समेट्न नसकेको देखिन्छ ।

विदेशबाट पैसा पठाउने विभिन्न विद्युतीय माध्यमहरु विकास भइसकेको परिवेशमा पनि नेपालमा ती वित्तीय प्रविधिहरुलाई चाहेर पनि रोक्न नसकिने देखीएको छ ।

उदाहरणको लागि भर्खर मात्र व्हाटस्एपले सानो भन्दा सानो रकम आदान प्रदान गर्न सकिने नयां सिस्टम विकास गरेको छ । यो विशेषता सहितको प्रयोग अहिले ब्राजिलमा ट्रायल भैरहेको बताइएको छ । फेसबुक भाइबर लगायतका संचार एप र सामाजिक संजाल कम्पनीहरुले पनि पैसा सजिलै पठाउन सक्ने फिचरहरु विकास गर्न थालेका छन् भने मोबाइल कम्पनीहरुपनि वित्तीय प्रविधि मैत्री बन्न थालेका छन् ।

भारतमा कार्ड र मोबाइल पेमेन्ट टेक्नोलोजीको प्रयोगबाट हुने आर्थिक गतिविधि जम्मा किनबेचमा हुने आर्थिक गतिविधिको २० प्रतिशत हिस्सा ओगटेको र हाल मात्र २०१९ पछि १६३ प्रतिशतले बढेको देखि गुगल पेले ससाना ब्यापारीहरुलाई लोन दिने, पे एपबाट ग्राहक मैत्री सेवा सुविधा थप गरेर भारतको प्रविधि मैत्री अर्थतन्त्र बढ्दो क्रममा देखिएको छ । तथापि  विविध  रणनीतिका साथ व्यापार मैत्री बन्दै भारतLय बजारमा फैलिन लागेको  गुगल पेलाई इजाजत बिनाको कारोबार गरेको  भन्दै राष्ट्र बैंकमा मुद्दा परेको थियो, तर गुगल एपलाई थर्ड पार्टी एप भन्दै त्यस्तो नभएको क्लिन चिट पनि प्राप्त भईसकेको अवस्थामा छिमेकी मुलुकहरुका वित्तीय संशाधन प्रयोगबाट सिक्ने, राम्रा कुराहरु अनुकरण गर्ने र आर्थिक विकास र वित्तीय समावेसितामा फड्को मार्ने प्रशस्त सम्भावनाहरु पनि रहेकाछन् ।

नेपालको अर्थतन्त्रको आधा जस्तो हिस्सा ओगटेको कृषि उत्पादनमा आधारित अनौपचारिक अर्थतन्त्र  र आधुनिक वित्तीय प्रविधि र बैंकिंग सेवा सुविधाबाट वन्चित आधा भन्दा धेरै जनसंख्यालाई वित्तीय समावेसिताको दयारा भित्र राख्न पनि बित्तिय प्रविधि अर्थात् फिन्टेकको ठुलो महत्व रहेको देखिन्छ  ।

वित्तीय प्रविधि र सृजनशील वित्तीय सुविधा संयन्त्रहरुले वित्तीय समावेसिताको लागि ठूलो भूमिका खेल्ने देखिएता पनि तिनलाई नियमन गर्न र राज्य र जनताको हितमा प्रयोग गर्नको लागि निगरानी गर्न ठूलो चुनौती पनि रहेको बिश्वभरका बिकसित देशहरुले सुरुमा भोगेका विविध उदाहरणहरुले प्रस्ट परेका छन् । यस्तै गरेर प्रविधि मैत्री पूर्वाधार र बित्तिय प्रविधिलाई सजिलै अपनाउन सक्ने ब्यवसायी र सेवाग्रहीहरुको विकासका लागि विविध साक्षरता पनि उत्तिकै महत्वपूर्ण पाटो हो ।

नेपालको अधिकांश जनसंख्याको हातमा पुगिसकेको मोबाइल उत्तिकै समावेसिताको एक साधन बन्न सक्ने देखिन्छ । त्यस्तै गरी  सरकारले प्रदान गर्ने सेवा तथा सुविधाहरुलाई प्राप्त गर्न बैंकिंग कारोबारको प्रयोग अनिवार्य गर्ने, बित्तिय समवेसिताका लागि सम्बन्धित पक्षहरुका अल्प कालिन  , मध्यकालिन र दिर्घकालिन रणनीतिहरु अनिवार्य पक्ष हुन् ।  सरकारले अघि बढाएका वित्तीय समावेसिताका नीतिमा नै सीमित रहने  कागजी प्रावधानहरुलाई व्यवहारमा उतार्न निजी क्षेत्रको तदारूकताको पनि खाँचो देखिएको छ ।

नाफा आउने ठाउंमा मात्र हात हाल्ने र वित्तीय बजार विस्तार र साक्षरतामा ज्यादा ध्यान नदिने निजी क्षेत्रलाई पुरस्कार, मूल्यांकन र दण्डका माध्यमबाट हरेक स्थानीय तहसम्म पुर्याउने र प्रत्येक परिवार र आर्थिक कारोवार गर्न सक्ने व्यक्तिसम्म पुर्याउन सके उद्यमसिलता र दीगो आर्थिक बिकासको लागि प्रशस्त बाटोहरु खुल्ने देखिन्छ ।

गम्भीर प्रश्न त ती वित्तीय प्रविधिहरु केवल विदेशी वस्तु तथा सेवा खरिद बिक्रि गर्नको लागिमात्र प्रयोग हुने र नेपालको स्थानीय अर्थतन्त्र, व्यापार र साना भन्दा साना पसलदेखि घरेलु उद्योग र सेवाग्राही  सबैले प्रत्यक्ष फाइदा लिन नसक्ने हो भने प्रत्युत्पादक हुने देखिन्छ  ।

प्रविधिको विकाससंग़ै इन्टरनेट मार्फत सुरु भएका वित्तीय प्रविधिहरुलाई गाउँ गाउँ सम्म पुर्याउन इन्टरनेट सेवा विस्तार पनि उतिकै महत्वपूर्ण पक्ष हो । प्रविधिको विकासलाई रोक्न भौगोलिक सिमाना र पुराना नियम कानुनले नसक्ने र नधान्ने अवस्थामा नयाँ वित्तीय नियम र कानुनहरुको विकास गरी प्रविधिमैत्री वित्तीय क्षेत्रको स्तराेन्नति नै दीगो आर्थिक विकासको आधारस्तम्भ हुन सक्ने देखिन्छ । 

लेखकलाई सम्पर्कगर्न @jaganbimal      jnkarki@gmail.com 

(कार्की वित्तीय समावेसितामा प्रविधिको असरबारे अनुसन्धानरत छन्  ) 

https://globalnepalese.com/post/2020-06-1686229222

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More