August 21, 2021

पार्टी, देश र आफैलाई उचाइमा पुर्‍याउने देउवाको अन्तिम अवसर

 करिब २ तिहाई जनमतको सरकार हाँक्ने सुनौलो अवसर पाएका निवर्तमान प्रम केपी ओली मृगौला फेरेर पाएको पुनर्जीवन संगै बाघको रूपमा फेरिए । आफ्ना सहकर्मी र  आफुलाई कुर्सीमा स्थापित गर्नेहरूलाई मान्छे नगन्ने मात्र हैन उनका पुत्ला बनाएर बजार घुमाउने, जय गान गाउने , भाड़ाका मानिस भेला गरेर 'बा' भनाउने कृत्रिम फुरक्याइको पछि दंग परेर तिनले जे भने त्यसको पछि लागे । ति भ्रस्ट मण्डलीले मौक़ामा फाइदा लिने सुरमा ओलीले नाकाबन्दी ताका कमाएको लोकप्रिय छवि १६ बर्षे जेलनेलको तपस्यालाई भस्म पारिदिए ।

वाइड बडी, बालुवाटार, सेक्यूरिटि प्रेस खरीद ७० करोड काण्ड , यति हुँदै ओम्नि सम्म आइपुग्दा उधुम गन्हाए । संविधान मिचेर जथाभावी नियुक्ति गर्ने काम पनि आसेपासे पोस्ने र कमाउ धंदालाई नै केन्द्रमा राखेर गरेको देखियो ।  समग्रमा ओलिको कार्यकाल सत्ता र शक्तिको दुरुपयोग र सिंगो नेकपालाई नै अभिशाप बन्यो । उनको बहिर्गमन राजनेताको रूपमा हुने अवसर मासेर एक हरूवा सिपाहीको  रूपमा भयो । ओली र एमालेको बेहाल हुनुमा ओली वरिपरिका ५-७ पात्र जो सल्लाहकार र किचेन क्याबिनेटका रूपमा थिए ती व्यक्ति नै मुख्य ज़िम्मेवार देखिए ।

नेपालको हावापानी, राजनीतिक परिवेशमा आँट, हिम्मत र निर्णय गर्न सक्ने क्षमता भएका ओलीको सम्पूर्ण उर्जा आफुलाई बाघ प्रमाणित  गर्नमा बित्यो ।  उनले मुलुक र  दलको स्वर्णिम  समय र अवसरलाई सत्यानास गरे ।

उनको विकल्पमा उनैले खनेको खाल्डोबाट ५ बर्षका लागि प्रतिपक्षमा पुगेका शेर बहादुर देउवालाई  अचानक सत्तामा प्रवेश गर्ने मौका मिल्यो ।

चाहना नराखी प्रम बनेका भनिएका देउवा पाँचौं पटक प्रम बन्दै गर्दा यस अघी बन्नका लागी मात्र प्रम बन्ने रेकर्ड रखेका भएपनि यो पटकको अवसर भने जीवन भरको राजनीतिक विरासतलाई उंचो बनाउने हुन सक्ने छ  ।

यो सरकारले एमाले माधव खेमाले मत नदिए ३० दिनमा विश्वासको मत नपाउने संभावना पनि उत्तिकै छ, त्यसो भएको खण्डमा ६ महिना भित्र चुनावमा जाने अवस्था सृजना हुनेछ । ६ महिनाको भूमिका कामचलाउ हुनेछ । यहाँ माधव नेपाल समूहको लडाई संसद र संविधान बचाउने सबैले सशरिर उपस्थित भएर देउवालाई प्रम प्रस्ताव गरेको कारणले, र धारा ७६ (५) मा व्हिप नलाग्ने भएकोले सरकारलाई विश्वासको  मत दिने र  सरकार १८ महीना टिक्ने संभावना छ । हालको परिस्थिति कांग्रेसको आसन्न अधिवेशन र अन्य दलको फुटले पनि ६ महिनामै गरिने चुनाव कसैलाई प्रिय नहुने पक्का छ ।

यो सत्तारोहण उनको पालामा खुम्चिएर २३ सिट प्रत्यक्ष जितेको, सबै प्रदेशमा नेतृत्व गुमाएको यथार्थ भुलेर ओली पथमा लागे देउवाको मात्र हैन कांग्रेसको भविष्यको लागि पनि प्रत्युत्पादक हुनेछ ।

नेपालमा कम्युनिस्ट जनमत झन्डै दुइ तिहाइ पुग्नुको मुख्य कारण  कांग्रेस पार्टीले छोडेको आफ़नो गति र मति हो । अब फेरि  पनि विगत २ दशकको प्रवृत्तिमा सुधार नल्याए कांग्रेसको भविष्य राप्रपाको पथमा जाने पक्का छ ।अहिलेको पुस्ता पुर्ख्यौली पार्टी भन्दा लोकतान्त्रिक आचरणको ब्यवहारिक प्रयोग गर्ने दलको मूल्यांकन गर्ने प्रवृत्तिका छन् ।

मिडिया, सूचना  प्रविधि र सामाजिक संजालको निगरानी चौतर्फ बढ़ेको  अवस्थामा विगतका बदनामीको आलोचना सुरु हुने नै छ, अहिले त झन् तीव्र बढ्ने छ ।
लोकतन्त्रका लागि आजीवन लडेका देउवा उमेरको हिसाबले पनि अब लामो समय चलखेल गर्ने अवस्थामा छैनन् । यो समय उनी र  लोकतन्त्रका लागि राजनीतिक जीवनमा स्मरण योग्य काम गरेर इतिहास रच्ने हुन सक्ने छ । विगतमा गरेका गल्तीलाई पनि भुलाउने योगदान गरी राजनेता बन्ने अवसर छ ।

लोकतांत्रिक पद्धति, कानुन नियम, पद्धति त हार्डवेयर मात्र हुन् सफ़्टवेयर भनेको त नैतिकता, ईमान र पारदर्शी भूमिका र ब्यवहार हो जसले लोकतंत्रको प्राण भर्ने गर्छ ।

तत्काल उनले  अनुहार र पार्टिको अधिवेशनलाई प्रभाव पार्ने हिसाबमा मन्त्रीहरू नियुक्त नगरी क्षमताका आधारमा उनलाई सहयोग पूर्याउने चुन्नु उपयुक्त हुनेछ । जस्तै स्वास्थ्य मन्त्री हुँदा राम्रो काम गरेका र निरन्तर स्वास्थ्य क्षेत्रको निगरानी गरिरहेका  गगन थापालाई स्वास्थ्य मन्त्रीमा ल्याउने, त्यस्तै अर्का सारथीमा प्रतिपक्षमा प्रभावकारी भूमिका खेलिरहेका डा. मिनेन्द्र रिजाललाई ल्याउने, प्राज्ञिक र क्षमतावान डा. डिला संग्रौला, धनराज गुरुङ, योजना आयोग र सल्लाहकारमा डा. स्वर्णिम वाग्ले, डा. विश्व  पौडेल जस्ता अर्थशास्त्रीहरूलाई ल्याउने ।

उनलाई पार्टीको मात्र हैन अन्य दलका अनुभवी नेताको समेत सहयोग रहेको यो अवसर छ । डा. बाबुराम भट्टराई , प्रचण्ड, चित्र बहादुर केसी, रामचन्द्र पौडेल लगायतको उच्चस्तरीय संयन्त्र  बनाई सरकारका कामको समीक्षा र निगरानी गर्ने ।

'समाजवादतर्फ नीतिगत पहल'

पहिलो, हालसम्म कांग्रेसले भन्दै आएको समाजवादका केही आधारभूत कुराहरू स्वास्थ्य , शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न  तत्काल नीतिगत कामहरूको पहल गर्ने जुन भोलि  चुनावमा जाँदा जनतालाई विश्वासमा  लिने एक आधार बन्न सक्ने छ । तत्काल शुरुवातको बिन्दु महामारीको नियंत्रणको लागि  हदै सम्मको प्रयास र साना ब्यापारी, मजदुर र किसानलाई राहत तथा कोरोना पछि पुनः जीविकाको लागी टेवा पुग्ने कार्यक्रम अत्यावस्यक छ ।

दोस्रो, निर्मम बनेर ओली सरकार र त्यस अघिका भ्रस्टाचारका गतिविधिलाई निष्पक्ष छानबिन गराउने । शेरबहादुर देउवालाई प्रयोग गरी काम लिने र भ्रस्टाचार गर्ने तत्व ओलीका भन्दा धेरै  छन् ।

देउवाका मुख्य चुनौती प्रतिपक्ष भन्दा ओलीको  जस्तै आसेपासे र उनलाई घेराबन्दी गरेका धेरै गन्हाएका अनुहार हरू नै हुन् ।

हाल ओलीको बदमासीले गर्दा मिडिया, राजनीतिक दलहरू र नागरिक समाजको साथ उनीसंग छैन । यो साथको रचनात्मक सदुपयोग गर्न तत्काल एकदिन विज्ञ टोली, एक दिन मिडिया ,  एक दिन नागरिक समाज बोलाएर सुझाव र अंतर्क्रिया गरेर सुझाव माग़्ने काम गरेर सबै तप्काका प्रतिनिधि राखेर निरंतर सल्लाह लिने कामबाट नै तत्काल के गर्ने भन्ने मार्गनिर्देश मिल्ने छ ।

दीर्घकालिन धेरै काम गर्ने समय नभएतापनि समग्रमा बुँदागत रूपमा गर्नुपर्ने कामहरू :

१. ओलीले भत्काएका  संसदीय र संवैधानिक प्रकृयाको पुनर्स्थापना

२. कोरोनापीडित हरूको उत्थान र अर्थतन्त्रलाई पुनर्स्थापना गर्ने योजना

३. भ्रस्टाचार नियंत्रण र सुशासनका कामको तीव्रता

४. महँगीको नियंत्रण , बेरोज़गार मज़दूरलाई भत्ता

५. सरकारको सहयोगमा स्वास्थ्य बीमा १००% नागरिकमा गराउने

 ६. शिक्षा र स्वास्थ्य क्षेत्रको माफियाकरण रोक्ने नीति र कार्यक्रम ।

अनावश्यक राजनीतिक तिकड़ममा नभूली निष्ठा, नैतिक मूल्य तथा लोकतान्त्रिक मान्यतामा सम्झौता नगरी माथि उल्लेखित प्राथमिकतामा अर्जुन दृष्टिका साथ काम गरे जनताका मन मस्तिष्कमा बस्न पाउने, पार्टी र देशलाई नै अराजकताको दुश्चक्रबाट त्राण दिने र पार्टीलाई पनि बचाउने अन्तिम अवसर देउवाले पाएका छन् ।

दलहरुलाई  अवसर

जनताको प्रत्यक्ष  म्यान्डेट नरहेको र मुलुकको विषम  परिस्थितिमा गठित यो सरकारमा एमालेलाई पनि समावेश  गरी सर्वदलीय सरकारमा रूपान्तरण गरेर रास्ट्रको अबको मार्गचित्र कोर्ने काम दीर्घकालीन महत्वका नक़्सा, सीमा, एमसीसी र छिमेकीका सम्बन्धको बारे जो सरकारमा आएपनि सबैको एक मत हुने  राष्ट्रिय नीति बनाउन पनि लागी परे राष्ट्रिय  एकता कायम गरेर लोकतंत्रलाई बलियो बनाउन टेवा मिल्नेमात्र हैन नेपालको इतिहासमा  लोकतान्त्रिक गणतन्त्रको बलियो मियो गाड्न  यो सरकार साथै दलहरुलाई सुनौलो अवसर हो ।

यसर्थ दल भन्दा पनि माथि उठेर राष्ट्रिय महत्व र हितको काम गर्नका लागि पनि देउवालाई सुनौलो अवसर मिलेको छ भने राजनीतिक दलहरुलाई पनि लोकतन्त्रका लागि लडेको, राष्ट्रिय अन्तर्रास्ट्रिय विश्वास रहेको एक भरपर्दो र अनुभवी सिपाहस्लाई अघि लगाएर सहमति कायम गर्दै नयाँ संविधान, संघीयताकाे कार्यान्वयन र ब्यवस्थापन गर्दै थप मजबुत पार्न गतिलो अवसर सिर्जना भएको छ ।  

सन्त नेता कृष्ण प्रसाद भट्टराइका अनुयायीका नाताले पनि देउवाले अझ एक कदम माथि उठेर अबको पार्टी नेतृत्व र आउने सरकारको नेतृत्वका लागि  अर्को पुस्तालाई तयार गर्न सकेको खण्डमा उनको नाम हाल सम्मका सर्वाधिक सफल सभापति, प्रम र देशको लोकतान्त्रिक इतिहासमा नया संस्कार स्थापनागर्ने राज नेताको रूपमा हुनेछ । आगे प्रम देउवाज्यूको मर्जी ।

लेखकलाई फलो गर्न ट्वीटर :  @jaganbimal

https://globalnepalese.com/post/2021-07-1970277993

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More