February 21, 2016

'मशाल' चिन्ह नयाँ शक्तिको रणनीतिक जीत

नयाँ शक्ति पार्टी, नेपालको छोटो समयमा बिश्वब्यापी रुपमा नेपाली डायस्पोराहरुका बीचमा बनेको सञ्जाल अनि गाउँ-गाउँसम्म पुगेको संगठन संरचना र यसले ल्याएको बैचारिक बहस, समृद्धिको अर्जुनदृस्टिका कारण हिजोआज पुराना शक्तिहरु अत्तालिएको भान हुन्छ । यसको वैचारिक, रणनीतिक छलांग र जुझारु कार्यकर्ताहरुको निरन्तर सिक्दै र परिमार्जित हुँदै जाने गतिशील अग्रगामी सन्तुलनको सिद्धान्तप्रतिको अभ्यास देखेर आफ्नो राजनीतिक भविष्य असुरक्षित देखेका पुराना शक्तिहरुबाट नयाँ  शक्तिलाई चौतर्फी रुपमा आक्रमण गर्ने, अनावश्यक लान्छना लगाउने कामहरु भएका छन् ।

नयाँ शक्तिलाइ कमजोर पार्न कतिपय सामाजिक क्षेत्रबाट आएका अभियन्ताहरुमा नैरास्यता ल्याउन ठूलो शक्तिकेन्द्र नै लागिपरेको देखिन्छ । नयाँ पार्टीमा विभिन्न स्वार्थले प्रवेश गरेका स्वार्थसमूहहरु र केही व्यक्तिहरु आफ्नो स्वार्थ पूरा गर्न नसकी अलग हुने सामान्य प्रक्रियालाई उछालेर नयाँ शक्तिको उछितो काड्ने, नकारात्मक विचार प्रवाह गर्ने जस्ता कार्यहरु पनि हुँदै आएका छन् । अरुको गलत प्रचार गरेरै आफ्नो सत्ता टिकाउन पल्केका पुराका शक्तिहरुका कुराबाट प्रष्ट हुन्छ कि उनीहरु कुरा मात्र गर्ने, अरुको नकारात्मक टिप्पणी मात्र  गर्ने र जनमत जित्न सकिने पुरानै शैलीबाट ग्रसित छन् । अब काम नगरी कुरा काटेर र अरुको नकारात्मक प्रचार गरेर मात्रै जनमत जित्ने जमाना गए । नयाँ शक्ति भुक्ने कुकुरलाई ढुंगा हानेर लक्ष्यमा नपुगिने कुरामा विश्वास राख्छ ।
कांग्रेस, माके सरकारको योजना अनुरुप नै नयाँ शक्तिलाई चुनावमा जान रोक्ने रणनीति अनुसार संसदबाहिरका पार्टीहरुलाई दलीय चुनाव चिन्ह प्रयोग गर्न रोकिनुमा कांग्रेस, एमाले र माकेबाट नयाँ शक्तिमा ध्रुवीकरणको क्रम बढ्नु र नयाँ शक्ति चुनावमा गए अझ ठूलो क्षती बेहोर्नु पर्ने मानसिकता नै कारक रहेको प्रष्ट बुझिन्छ ।  संविधानप्रदत्त अधिकारलाई रोक्दै गैरकानुनी रुपले हठात नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी ल्याइएको ऐनले यी पुराना शक्तिहरुमा गैरलोकतान्त्रिक प्रवृति रहेको कुरा नै छर्लंग हुन्छ । शान्तिपूर्ण रुपमा चुनावमा भाग लिन तयार राजनीतिक शक्तिलाइ यसरी चौतर्फी रुपमा रोकिनु र यस सम्बन्धी परेको रिटउपर अदालतमा बहस हुन पनि विलम्ब हुनुले लोकतन्त्र गलत व्यक्ति र प्रवृत्तिहरुको हातमा गएको र धरापमा परेको प्रस्ट संकेत गरेको छ ।
यी अनेकन षड्यन्त्रहरुविरुद्ध  हाल नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संयुक्त रुपमा चुनाव चिन्ह 'मशाल' लिई चुनावमा सहभागी हुने सम्झौता गरेका छन् । जुन कुरा अहिलेसम्मको चुनावी संस्कारमा विल्कुलै  नयाँ प्रयोग हो भने यसका साथै नयाँ शक्तिलाई दलीय हैसियत नदिई स्वतन्त्र ढंगले उम्मेद्वारी दिन वाध्य बनाएर तहसनहस पार्ने वा चुनावविरोधी भनेर प्रमाणित गर्ने पुराना शक्तिहरुको रणनीतिलाइ पनि असफल बनाउन नयाँ शक्ति सफल भएको छ । यसका साथै नयाँ शक्ति लोकतन्त्रको एउटा आधार चुनावदेखि कहिल्यै भाग्दैन बरु सामना गर्न तयार छ भन्ने अर्को जबरजस्त सन्देश जनतामा छोड्न पनि सफल भएको छ । यसबाट आत्तिएकाहरुले फेरि अहिले नयाँ शक्ति फोरममा बिलय भयो भनेर हल्ला चलाउन थालेका छन् । तर न यो कुनै विलय हो वा अरुको चिन्ह सापटी लिइएको हो बरु राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९को प्रयोग गरी छुट्टाछुट्टै दलको पहिचान समेत स्थापित हुने गरी एकल चिन्हको प्रयोग गर्न खोजिएको हो । दुबै पार्टीले उम्मेद्वारको पार्टी खुलाउनु पर्ने ऐनको प्रावधानले दलीय पहिचान सुरक्षित गर्छ । यसमा सबै प्रष्ट हुनु जरुरी छ ।
गैरलोकतान्त्रिक प्रवृत्तिविरुद्ध लड्नु र नयाँ राजनीतिक संस्कारको विकाससँगै समृद्धिको मार्गचित्र  कोर्नु  नै नयाँ शक्तिको प्रमुख लक्ष्य हो । पुरानो गैरलोकतान्त्रिक संस्कार, समाजका अराजक क्रियाकलाप र जकडिएर बसेको  परिवर्तनविरोधी संस्कारविरुद्धको लडाइँ एक रात, एक दिनको लडाइँ हैन । यो अलिक लामो लडाइँ हो । एकछिन फेसबुकमा बोलेर, एकछिन लेखेर, एकछिन ट्विट गरेर समृद्धिको भाषण एकछिन गरेर देश परिवर्तन हुन्छ भन्ने मान्यता पक्कै पनि अपरिपक्व सोंच नै हो । समाज, संस्कार परिवर्तनसँगै समृद्धिको जग खन्ने लक्ष्यमा पुग्न लामो रेसको घोडाकै आवश्यकता हुन्छ । आफ्नो व्यक्तिगत इच्छाले पलायन हुनु सामान्य प्रक्रिया हो, त्यसैलाई विरोधीहरुले उचाल्नु पनि सामान्य प्रक्रिया नै हो । तर वहाँहरुले गर्नुभएको योगदानप्रति धन्यवाद नदिएर सराप्ने, दुस्प्रचार गर्ने, भागुवा भन्ने जस्ता पुरानै शक्तिका प्रवृत्तिलाई पनि नयाँ शक्तिका अभियन्ताहरुले बिस्तारै सुधार्नु पर्ने छ ।
पुराना शक्तिहरु एमाले, कांग्रेस, माओवादी केन्द्र सम्म एक अर्कामा तालमेलमा लागेको अवस्थामा अर्को महत्वपूर्ण कुरा भनेको परिवर्तनकामी शक्तिहरुबीच रणनीतिक तालमेल गरेर वैकल्पिक गठवन्धन तयार गर्नु  । जसमार्फत चुनाव मा तालमेल हुन सकोस । जसरी भारतमा विभिन्न दलहरु मिलेर साझा गठवन्धन बनाई चुनावमा जाने चलन बढेर गएको छ, नेपालमा पनि त्यो सम्भव छ । त्यसको सुरुवात सम्पूर्ण वैकल्पिक शक्ति भनेर परिचय दिने दलहरुले गर्न जरुरी छ । विवेकशील नेपाली दल, साझा पार्टी लगायतका दलहरुसँग पनि चुनावी तालमेल भएको खण्डमा देशको लागि केही गर्न स्पष्ट भिजन भएका व्यक्तिहरुको समूह थ्रेसहोल्डको चेपुवामा परेर सकिने ठूलो धरापमा पर्नबाट जोगिन्छ अनि अझ ठूलो शक्ति बनेर पुराना शक्तिलाई परास्त गर्न सकिने देखिन्छ 
Published on : http://nayashaktinepal.org/bichar/401

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More