April 25, 2016

नयाँ शक्ति समाजवादी (डेमोक्रयाटिक) पार्टी हुन्छ – देवेन्द्र पौडेल

देवेन्द्र पौडेल, संगठन विभाग प्रमुख, नयाँ शक्ति निर्माण अभियान -
नयाँ पार्टी घोषणा गर्ने तयारीमा हुनुहुन्छ, कस्तो बन्दैछ नयाँ पार्टी ?
खासगरी देशको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा जस्तो गत्यावरोध देखिएको छ, त्यसलाई चिर्न नयाँ भिजनसहित अघि बढ्ने संकल्प गरेका छौं । अहिले कुनै पनि पार्टीले अभ्यास नगरेको भिन्न शैली, संस्कार र विचारसहितको पार्टी बनाएर देशलाई निकास दिने तयारीमा जोडतोडका साथ लागिरहेका छौं ।
वैचारिक रुपमा यो पार्टी कस्तो हुन्छ भन्नेमा तपाईंहरु नै अलमलमा परेको हो कि जस्तो देखिन्छ । यो पार्टी डेमोक्रयाटिक हुन्छ कि कम्युनिष्ट ?

यसमा हामी प्रष्ट छौं, अब घोषणा हुन लागेको हाम्रो पार्टी समाजवादी (डेमोक्रयाटिक) हुन्छ । समाजवाद सबैले लागू गर्ने विचार , सिद्धान्त र दृष्टिकोण हो । वामलोकतान्त्रिकसमाजवाद उन्मुख वैचारिक धरातल यसको हुनेछ । र ,यसका कार्यक्रम सुशासन र संवृद्धितिर लक्षित हुनेछन् ।
जीवनको अधिक समय कम्युनिष्ट विचारको रखबारी गर्नमै खर्च गर्नुभयो । तर, अहिले कम्युनिष्ट विचार नै त्यागेर नयाँ पार्टी बनाउँदै हुनुहुन्छ । यस्तो निष्कर्षमा कसरी पुग्नुभयो ?
वैचारिक हिसाबले हामीले राम्रा कुरा छाडेका छैनौं, अहिले पनि अवलम्बन गरेका छौं, भोलि पनि गर्नेछौं । कार्यक्रमका हिसाबले परिस्थिति फेरिएको र देश लोकतन्त्रसँगै संघीय मोडलमा प्रवेश गरेकाले अब नयाँ ढंगले अघि बढ्नुको विकल्प छैन । सुशासन र संवृद्धिको बाटो हिँड्नका लागि कुनै वाद र सिद्धान्तको पछि नलागेर नितान्त वैकल्पिक धारा खाँचो हुन्छ, हामी यही सोच राखेर अगाडि बढ्न लागिरहेका छौं । हामी डेमोक्र्याटिक र कम्युनिष्ट दुवै धाराका राम्रा कुरा ग्रहण गर्छौं । नेपाललाई परिवर्तन गर्न वर्तमान पार्टीले नसकेकाले हामीले नयाँ पार्टी गठन गरेर नयाँ बाटो लिएका हौं ।
तपाईंहरुकै कुरा पत्याएर हिजो धेरै युद्धमा होमिए, कति मारिए, कति घाइते शरीर लिएर युद्धको निसानी बोकेर अहिले पनि हिँड्दै छन् । तपाईंहरुकै कुरा पत्याएर युद्धमा होमिएकाहरुलाई यो कदम धोकापूर्ण भएन र ?
विल्कुलै यस्तो होइन । यसलाई यसरी हेर्नु पनि हुँदैन । हामीले विगतमा हाम्रा कुरा पत्याएर युद्धमा लागेकाहरुलाई धोका दिएका छैनौं, यस्तो कल्पनासम्म पनि हामी गर्न सक्दैनौं । धोका दिन त परको कुरा हामी यस्तो सोच्न पनि सक्दैनौं । खासमा कुरा के हो भने संवृद्ध समाजमा पुग्ने, साम्यवादी लक्ष्यमा पुग्ने समाजवाद सहित भन्ने माक्र्सको व्याख्या थियो ।यसो भन्नुको अर्थ मानिसले मानिसमाथि गर्ने सबै प्रकारका अन्याय, अत्याचार, शोषण, उत्पीडनको अन्त्य गर्नेभन्ने हो । नेपालको विशेषतामा वर्गीय, जातीय क्षेत्रीय लिंगीय उत्पीडनको अन्य गर्नेगरी राज्यलाई एउटा अग्रगामी पुनसंरचना गर्ने भन्ने हाम्रो लक्ष्य थियो, त्यो हामीले छाडेका छैनौं । खाली नाम मात्र कम्युनिष्ट गने कामचाहिँ आफ्नै गर्ने तर, कम्युनिष्ट विचारकै बदनाम गर्ने जुन संस्कार देखिएको छ, हामीलाई त्यस्तो गर्नु उचित नलागेर त्यस्तो पाखण्ड शैली नअपनाउने निर्णय गरेका हौं । कम्युनिष्टको नाममा बदनाम गर्न नचाहेका हौं । हिजोका साथीहरुलाई धोका दिएको छाडेका छैनौं, बरु जे भन्छौं त्यही गर्छौं, हिजोका साथीहरुलाई अझै समेटेर अघि बढ्छौं ।
कतिपयले बाबुरामले विदेशीको इशारामा पार्टी फुटाए , यो प्रायोजित छ भनिरहेका छन् नि ?
यो विल्कुल निराधार, झुटो र बेइमानीपूर्ण प्रचारबाहेक केही होइन। यसमा कुनै सत्यता छैन ।
जहाँसम्म पार्टी फुटाइयो भन्ने कुरा छ,यो पनि होइन । फुटको श्रृंखलालाई निरन्तरता दिएर हामीले पार्टी बनाउन खोजेका होइनौं । हामीले विभिन्न व्यक्ति–व्यक्तित्व र विशेषता भएका व्यक्तिहरुसँग छलफल गरेर नयाँ ढंगले पार्टी बनाउन खोजेका मात्रै हौं । यसमा सबै प्रष्ट हुन जरुरी छ ।
वैशाख १ मा नयाँ पार्टी घोषणाको कुरा थियो । तर, फेरि केही पर सारिएको भनिएको छ, कहिले घोषणा हुन्छ तपाईंहरुको पार्टी ?
जेठ ३०, ३१ र ३२ गते हामी नयाँ पार्टी घोषणा गर्दैछौं ।
विवाद बढेकाले नयाँ पार्टी घोषणा ढिलाई भएको हो कि अरु नै कारण छन् ?
यस्तो होइन । केही तयारी पूरा नभएकाले मात्रै हामीले वैशाख १ गते नयाँ पार्टी घोषणा नगरेका हौं । विचार, संगठन र कार्यक्रमका रुपरेखा सहित देशका ७५ वटै जिल्लाहरुमा प्रारम्भिक संगठनात्मक संरचना सहित घोषणा गर्ने योजना थियो । तर, योजना पूरा नभएकाले केही पर सारेको मात्रै हो, विवाद बढेर होइन ।
हिजो आज नयाँ शक्ति निर्माण अभियान के मा व्यस्त छ ?
हामी अहिले देशव्यापी संगठन निर्माण र आधार बनाउने अभियानमा छौं । यसका साथै केही रचनात्मक कामसहित अघि बढ्दैछौं । वैशाख १२ गते भूकम्पस्मृति सभा गर्दैछौं काठमाडौंमा । जनतासँग सम्बन्धित कार्यक्रम पनि गर्दैछौं । मुलतः हामी संगठन विस्तार र सदस्यता वितरणको काममा बढी केन्द्रित छौं ।
देश दौडाहामा हुनुहुन्छ, माहोल कस्तो पाउनु भएको छ ?
जनताको उत्साहजनक समर्थन सहानुभूति रहेको हामीले पाएका छौं । देशभरका जनताले वैकल्पिक राजनीतिक धारको खाँचो महसुस गरेको हामीले अभियानका क्रममा भेटेका छौं । हामीले सोचेभन्दा राम्रो माहोल बन्दै छ, नयाँ शक्तिको । ठाउँ खाली छ र इमान्तारिता सहित काम गर्नुभयो भने अवसर दिन्छौं भनेर ठूलो हिस्साले भनेका छन् ।
एमाओवादीबाहेकका पार्टीबाट आएनन्, यो एमाओवादीकै फाटोकपी नै भयो भन्ने पनि छन् नि ?
विल्कुल होइन । हाम्रो केन्द्रीय अन्तरिम परिषद्को सचिवालय हेर्नुभयो भने पनि धेरै कुरा थाहा हुन्छ । बहुसंख्यक गैरमाओवादीबाट आएका छन् । कतिपय जिल्लामा बनेकाकमिटिको संरचनाले नि यसको जवाफ दिन्छ । यो निराधार कुरा हो ।
नयाँ शक्तिले पूर्वप्रशासकलाई बढी नै महत्त्व दिए जस्तो देखिन्छ । पूर्वप्रशासकबाट नयाँ शक्तिले बढी अपेक्षा गरेको हो ?
पूर्वप्रशासक आउन नपाउने भन्ने हामीले कहीँकतै बनाएका छैनौं । अनुभवबाट खारिएका र सुशासन र संवृद्धिका लागि त्यस्ता मान्छेहरुको खाँचो भएकाले हामीले समेटेका मात्र हौं ।
अब सँगै युद्ध लडेकाहरुले त मिलेर केहीगर्न सक्नु भएन । अब नौतिर मुख फर्किएका खिचडी पाराका लोभीपापीहरुलाई भेला पारेर देशलाई संवृद्धि दिन्छौं भनेर तपाईंहरुले भनिरहनुभएको कुरालाई जनताले कसरी पत्याउलान् ?
यो खिचडी होइन । वैचारिक रुपमा कसरी जाने भनेर हामीले आधारभूत डकुमेन्ट त बनाएका छैनौं । तर,सुशासन र संवृद्धिसहितको समाजवादमा पुग्ने भन्ने कुरामा सहमत भएकाहरु नै हाम्रो अभियानमा लामबद्ध हुनुभएको छ । मोटामोटी त्यही वरिपरी रहेर प्रतिवेदन पनि बनाउँदैछौं । खिचडी भयो र नौतिर मुख फर्किएका भए भन्नु बिल्कुल सही होइन ।
तपाईंहरुको अभियानमा हाइप्रोफाइलका नेता पनि आउँदैछन् भनेर हल्ला गरियो । तर, त्यस्ता कोही पनि आएनन् । के नयाँ शक्तिलाई नपत्याइएको हो ?
त्यस्तो होइन । विभिन्न पक्षहरुसँग अहिले पनि छलफल चल्दै छ । कतिपय कुराहरु टुंग्याउन देशव्यापी अभियानमा हिँड्दा भ्याइएको छैन । धेरै व्यक्तिसँग कुरा भइरहेको छ । निकट भविष्यमै थुप्रै हाइप्रोफाइलकै व्यक्ति–व्यक्तित्व नयाँ शक्तिमा सहभागी हुँदै जाने छन् ।
नयाँ शक्ति पहिलो शक्ति बन्ने तपाईंहरुको दाबीलाई कतिपयले हावादारी भनेका छन् । तपाईंहरुले दाबी गरेजस्तै पहिलो शक्ति बन्ने आधार के छ ?
खासगरी हामीले १ लाख संस्थापक सदस्य हुनेगरी पार्टी घोषणा गर्दैछौं । नेपालको इतिहासमा कुनै पनि पार्टीले यतिधेरै सदस्य बनाएर पार्टी घोषणा गरेका छैनन् ।अहिले हामीले करिब ७४ जिल्लामा अन्तरिम संरचना निर्माण गरिसकेका छौं । यसका साथसाथै गाउँ, नगर र वडाहरुमा पनि त्यो संरचना बनाउने भन्ने भएकाले यसैलाई आधार मानेर हामीले यस्तो प्रक्षेपण गरेका हौं ।
दाबी त गर्नुभयो, तर, के छ र तपाईंहरुसँग यतिधेरै मानिस आकर्षित गर्न सक्ने खुबी ?
देशको बाटो सुशासन र संवृद्धिको बाटो हो । थुप्रै विचार र वादको एकेडेमिक बहस गर्न सकिएला तर, जनतालाई जीवनमा परिवर्तन चाहिएको छ । रोजगारी चाहिएको छ, परक्यापिटा इनकमको अभिवृद्धि चाहिएको छ । त्योबाटो हामीले लिएका छौं, तर अरु रानीतिक दल यो कुरामा कुहिराका काग जस्तै बनिरहेका छन् । त्यसैले जनताले हामीलाई साथ दिन्छन् भन्नेमा हामी विश्वास छौं ।
तर, नयाँ पार्टी गठन हुनु पूर्व नै विवाद बढेको,भ्वाङ परेको कुरा आइरहेको छ नि ?
यो बिल्कुलै होइन । अलीअली केही विषयमा आन्तरिक छलफल र बहस भएका मात्रै भएका हुन् । आन्तरिक छलफललाीई बुझ्दै नबुझी विवाद भनिएको मात्र हो । हााम्रो पार्टीमा बाहिर आएजस्तो केही पनि विवाद छैन । विवादरहित ढंगले हामी अघि बढिरहेका छौं ।
माओवादी छाड्नु भयो , कस्तो महसुस गरिरहनु भएको छ ?
माओवादी आन्दोलनले एउटा कालखण्डमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । परिवर्तन पनि यसकै बलमा भयो । तर, अब अहिले हामी नयाँ कोर्समा परिवर्तन गरेका छौं, त्यही बाटो, त्यही शैली र त्यही निरन्तरताले अब देशका समस्या सम्बोधन गर्न सक्दैनन् । त्यसैले हामी नयाँ बाटो रोज्न बाध्य भएका हौं । हामीले लिएको बाटो नै देशका समस्या समाधानका लागि उपयुक्त भएकाले मैले व्यक्तिगत रुपमा फरक अनुभूति गरेको छु । फरक संगत गर्दा रमाइलो लागिरहेको छ ।
एमाओवादीका नेताहरुसँग भेटघाट हुन्छन् कि हुँदैनन ? भेटमा कस्ता कुरा हुन्छन् ?
भइराख्छ ।कुनै कसैप्रति पूर्वाग्रह छैनौं । फोन र भेटघाट भइराख्छ । टुटफुट भएर गएका साथीहरुलाई मिलाएर जान पाएको भए राम्रो हुन्थ्यो भनेर उहाँहरुले भन्नुहुन्छ । मैले अब नयाँ ढंगले जानुको विकल्प नभएकाले यो अभियानमा लामबद्ध हुन आग्रह गर्ने गरेको छु ।
एमाओवादी र प्रचण्डलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
व्यक्तिगत रुपमा म प्रचण्डको सम्मान गर्छु । किनभने उहाँको र मेरो कहिल्यै नराम्रो भएन । इतिहासमा उहाँले निर्वाह गरेको भूमिकाप्रति म सदाशयता प्रकट गर्न चाहन्छु । पार्टीमा रहुन्जेलसम्म सहयोग गरेकाले व्यक्तिगत सहानूभूति अहिले पनि छ ।
एमाओवादीको भविष्य के होला ?
एमाओवादीका बारेमा अहिले टिप्पणी गर्नुु त्यति उचित छैन । जुन बाटो एमाओवादीले लिइरहेको छ, त्यो जनताको समस्या समाधान गर्ने बाटो होइन । उहाँहरुले ट्याक चेन्ज गर्नु भएन भने उहाँहरुले देशको नेतृत्व गर्न सक्नु हुँदैन । ट्याक चेन्ज गरेर सुशासन र संवृद्धिको बाटो लिएर आउनु भयो भने भोलिका दिनमा एमाओवादीसँग हाम्रो कार्यगत एकता पनि हुनसक्छ ।
साभार साँघु साप्ताहिक

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More