October 21, 2015

हेर्नुस आफ्ना स्वास्नी, ससुरा सभासद बनाउनेहरु को कति मधेसमा क्रान्तिकारी छन् ?

आफूलाई मधेसवादी भन्नेहरुले आफ्नो पार्टीको दर्शन के हो, त्यसले जीवन जगत र परिवर्तनलाई कसरी बुझेको छ र जनतालाई कसरी बुझाउने रणनीति बनाएको छ भनेर बताएका छैनन् । सत्तामा आफू जानु र जनतालाई आरक्षणमा सरकारी जागिर ख्वाउनुलाई त राजनीति भनिन्न ।



प्रश्नः नेताहरुले मधेसका जनतालाई के देला ? ऐतिहासिक रेकर्ड कायम गर्दै लामो समयदेखि जारी कष्टसाध्य आन्दोलन गरिरहेका मधेसवादी नेताहरुले राजनीतिक अधिकार पाए भने के गर्लान् ? मधेसका जनतालाई उनीहरुले के देलान् ?

कुरो प्रष्टै छ, उनीहरुको रोजाइमा मधेसमा सहिद बनेका जनताका छोराछोरी पर्दैनन्, बरु मधेसी जनताबाट पाएको भोट नेताहरुले पैसावाललाई बेच्छन् र सभासद बनाउँछन् । मधेसका नेताहरु जनताको भोटलाई आफ्नी पत्नी र सम्धिनीलाई सभासद् बनाउने कार्यमा दुरुपयोग गर्छन् । यसको सबैभन्दा बलियो प्रमाण हो, संविधानसभाको समानुपातिक प्रणालीमा उनीहरुले छानेका सभासद् ।

अघिल्लो संविधानसभा चुनावमा ८२ सिट जितेका मधेसवादी दलहरु दोस्रो चुनावमा ४९ सिटमा खुम्चिएका थिए । ती सिटमध्ये १२ सिट प्रत्यक्ष र बाँकी सबै समानुपातिकबाट हात पारेका हुन् । तर, समानुपातिकमा जितेका सिट दुरुपयोग गर्दै मधेसवादी दलहरुले आफ्ना श्रीमतीदेखि प्रेमिकासम्मलाई सभासद् बनाएका छन् । केही सिटहरु पहाडे समुदायका धनाढ्यहरुलाई बेचिएको छ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सबैभन्दा चर्को स्वरमा मधेसीको अधिकारको कुरा गर्छन् । तर, उनैले संविधानसभामा पाएका ६ समानुपातिक सभासदमध्ये एकजना आफ्नै श्रीमतीलाई बनाएका छन् । उनले श्रीमती शैलकुमारी देवीलाई कुनै राजनीतिक पृष्ठभूमि बेगर संविधानसभामा पठाएर मधेसी जनताको भोटको मजाक उडाए । श्रीमतीलाई सभासद् बनाउने महतो मात्रै एक्लै होइनन् ।

मधेसी जनअधिकार फोरमबाट फुटेर बनेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकको एक सिटमात्रै छ संविधानसभामा । समानुपातिकबाट पाएको त्यो सिटमा पार्टीका अध्यक्ष राजकिशोर यादवले सहिद परिवारलाई रोज्नुको साटो आफ्नै श्रीमती सरीताकुमारी यादवलाई सभासद् बनाए । राजनीतिक विषयको ज्ञान नभएकी सरिता सभासद बन्नुअघि गृहणी थिइन् ।

त्यसैगरी, मधेसी जनताको अधिकारको कुरा गर्ने अनिल झाले नेतृत्व गरेको संघीय सदभावना पार्टीको पनि संविधानसभामा एक सिट मात्रै छ । राजेन्द्र महतो र राजकिशोर यादवलाई पछ्याउँदै झाले पनि आफ्नै श्रीमती डिम्पल कुमारीलाई सभासद बनाए । उनकी श्रीमती डिम्पल झा एक आयुर्वेद डाक्टर हुन् ।

उता, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले भने श्रीमतीलाई सभासद बनाएनन् । श्रीमतीको साटो उनले ‘प्रेमिका’का रुपमा प्रचारित महिलालाई सभासद् बनाए । अमेरिकाको ग्रिनकार्ड होल्डर निर्जला राउतका पति अमेरिकी नागरिक हुन् । भण्डारीको पार्टीबाट नेपालको सभासद् भएपछि निर्जलाले अमेरिकाको नागरिकता त्यागेकी छिन् ।

त्यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टीकी सभासद इन्द्रा झा पार्टी अध्यक्ष महन्त ठाकुरकी सम्धिनी हुन् । ठाकुरले इन्द्राका छोरासित आफ्नी छोरीको बिहे गराउँदा दाइजोका रुपमा सभासद् पद दिने बाचा गरेकी थिइन् । सोहीबमोजिम सम्धिनी इन्द्रा सभासद् भइन् भने बिहे खर्च सबै उनैले बेहोरिन् । इन्द्राका श्रीमान् उमाकान्त झा नेपाल सरकारका पूर्वसचिव हुन् ।

मधेसवादी दलहरुले खुलेरै समानुपातिक सभासद पदलाई बिक्रीमा राखे । सभासद् बिक्रीका केही रोचक प्रसंगहरु छन् । तराई मधेस सद्भावना पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष महेन्द्र यादवले घोषणा गरेका थिए, ‘महेन्द्रनगरका नरेन्द्र शाहले हाम्रो पार्टीलाई एक करोड दिन्छु भनेका छन् । त्योभन्दा बढी दिन कोहि तयार हुनुहुन्छ कि उहाँलाई नै सभासद बनाउँ ?’ बैठकमा एक करोडभन्दा बढी निकाल्न कोही तयार भएनन् र शाहले सभासद् हत्याए ।

रामसपाका महासचिव रामेश्वर शाहले आफूसित पैसा लिएर पनि सभासद् नबनाइएको भन्दै पार्टीमा उजुरी हाले । अध्यक्ष शरदसिंह भण्डारीले उनलाई १२ लाख रुपैयाँ दिएर पार्टीबाटै बिदा गरे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले पहाडी समुदायका तीन पैसावाललाई लेनदेनकै आधारमा सभासद् बनाएका छन् । उनले सभासद बनाएका गीता राणा, डा. बाबुराम पोखरेल र डा. सुवोध पोखरल तीनै जना कहिल्यै राजनीति नगरेका पैसावाल हुन् ।

तमालोपा अध्यक्ष महन्थ ठाकुरका पूर्वपिएले सभासद् नबनाइएको भन्दै ठाकुरले चढ्दै आएको गाडी कब्जा गरेका थिए । सभासद् बनाउने शर्तमा आफूले गाडी किनिदिएको उनको दाबी थियो । – सुबोध राज प्याकुरेलको फेसबुकबाट ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More